npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

आचारसंहिताको धज्जी

अनिल श्रेष्ठ 8 hours ago

विराटनगर। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कोसी प्रदेशका जिल्लाहरूमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ। राजनीतिक दलका उम्मेदवारहरूबीच मतदाता लोभ्याउने होडबाजी चल्दा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कागजमा सीमित बनेको छ। एकातिर निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गर्ने र अर्कातिर सडकमा निस्कनेबित्तिकै त्यसको धज्जी उडाउने प्रवृत्ति दलहरूमा देखियो।

१६ फागुनमा मोरङ क्षेत्र नम्बर २ मा एउटा यस्तो दृश्य देखियो, जसले निर्वाचनको स्वच्छताबारे प्रश्न उठायो। निर्वाचन प्रचारमा हिँडेको को. १ च ७३३८ नम्बरको गाडीभित्र चार लाख ४९ हजार रुपैयाँ भेटियो। गाडीमा नेपाली कांग्रेसका पम्प्लेट, ब्यानर र नमुना मतपत्रहरू पनि थिए। रतुवामाईमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले शंका लागेर गाडी रोकेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार नगद र गाडीसहित तीन जनालाई पक्राउ गरिएको थियो। चालकले आफू व्यवसायी भएको दाबी गरेका थिए।

प्रहरीले सोधपुछ गरेर चालकसहित तीनै जनालाई छानबिनका लागि मोरङ २ को निर्वाचन कार्यालयमा बुझाएको एसपी कटवाल बताउँछन्। भन्छन्, “पक्राउ परेकाहरूलाई हामीले निर्वाचन कार्यालयमा बुझाएका छौँ। यस विषयमा उहाँहरूले छानबिन प्रक्रिया अगाडि बढाउनुभएको छ।”

मोरङ २ मा कांग्रेसबाट मीनेन्द्र रिजाल उम्मेदवार छन्। यस क्षेत्रमा नेकपा (एमाले)बाट दिलीपकुमार अग्रवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की उम्मेदवार छन्।

होलीको बहानामा टी-सर्टको राजनीति

२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरेर गए रातिदेखि मौन अवधि लागु भएको छ। मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार गर्न, मत माग्न, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

तर, मौन अवधिमा पनि चुनाव प्रचार गर्ने गरी जुक्ति लगाउँदै राजनीतिक दल र समर्थकहरूले तयारी गरेको देखियो। १५ फागुनमा मोरङ र झापाका विभिन्न बजारबाट प्रहरीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको तस्बिर अंकित तीन हजारभन्दा बढी टी-सर्ट र भेस्ट जफत गर्‍यो। झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलहरूबाट २६२ थान र मोरङबाट तीन हजार थान टी-सर्ट र भेस्ट जफत गरेको छ।

उम्मेदवारको नामसहित नारा लेखिएका ती टी-सर्ट मौन अवधिमा मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको प्रहरीको निष्कर्ष छ। कोसी प्रदेश प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाका अनुसार मौन अवधिमा यस्ता सामग्रीले निर्वाचनको निष्पक्षतामा खलल पुर्‍याउने जोखिम देखिएकाले पूर्वसावधानीस्वरूप नियन्त्रणमा लिइएको हो।

शिक्षकको आडमा प्रचार

आचारसंहिताले सरकारी शिक्षक र कर्मचारीलाई कुनै पनि दलको प्रचारप्रसारमा सहभागी हुन पूर्णतया बन्देज लगाएको छ। तर, झापा ५ मा निर्वाचन आचारसंहितालाई खुलेआम चुनौती दिइएको देखियो। ३ फागुनमा एमालेका अध्यक्ष एवं उम्मेदवार केपी शर्मा ओलीकै उपस्थितिमा दमकमा नेपाल राष्ट्रिय शिक्षक संगठनले राजनीतिक कार्यक्रम गर्‍यो।

नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा उपस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली। तस्बिर : अनिल श्रेष्ठ

आफ्नै निर्वाचन क्षेत्रमा शिक्षकहरूलाई राखेर चुनावी माहोल बनाउँदै गर्दा ओलीले देशमा विधिको शासन र स्थिरताको भाषण त गरे, तर सरकारी शिक्षकलाई राजनीतिक उद्देश्यमा प्रयोग गर्दा आचारसंहिताको उल्लंघन भएको विषयमा उनी मौन रहे। कार्यक्रममा झापा ५ का एमालेको चुनावी अभियानका कमान्डरसमेत रहेका पूर्वमन्त्री देवेन्द्र दाहाल, शिक्षक संगठनका झापा जिल्लाभरिका नेता तथा सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले भदौरे आन्दोलनमा भएको विध्वंसलाई लक्षित गर्दै ‘जनअसन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देश अप्ठ्यारो परिस्थितिमा पुगेको’ बताएका थिए। एकातिर देशमा अस्थिरता फैलाउन खोजिएको भन्दै चिन्ता व्यक्त गर्ने र अर्कोतिर निर्वाचनको स्वच्छता कायम गर्न बनेको आचारसंहिता आफैँले उल्लंघन गर्नुलाई झापा ५ का मतदाताले प्रश्न उठाएका छन्। “विधिको कुरा गर्नेले नै आचारसंहिताविपरीत सरकारी कर्मचारीलाई चुनावी हतियार बनाउनु विडम्बना हो,” दमक ३ का कृष्ण श्रेष्ठ भन्छन्।

बालबालिकाको प्रयोग र डिजेको कोलाहल

चुनाव प्रचारको समयमा निर्वाचन आचारसंहिताले साउन्ड सिस्टम र सार्वजनिक स्थलमा भड्किलो प्रचार निषेध गरेको थियो। तर, दल र उम्मेदवारले यसलाई बेवास्ता गरे। विराटनगरका चोक चोकमा अचेल उम्मेदवारका गाडीहरू ठूला ठूला डिजे बाजा बजाउँदै हिँडेको देखियो।

त्यति मात्र होइन, चुनावी र्‍याली र नाचगानमा बालबालिकाको प्रयोग पनि उत्तिकै रह्यो। बालअधिकारकर्मी बासु अधिकारी भन्छन्, “विपन्न परिवारका बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर प्रचारमा लगाइयो, यो गम्भीर अपराध हो।” दलहरू भने बालबालिका आफ्नै रहरले आएको भन्दै जवाफ दिनबाट तर्किने गरेका छन्।

निर्वाचन आचारसंहिता उल्लंघनका यति धेरै प्रतिनिधि घटना बाहिर आउँदा पनि अनुगमन गर्ने निकाय भने ‘छिटपुट’ घटना भन्दै पन्छिने गरेको छ। मोरङका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सोमनाथ उप्रेतीका अनुसार हालसम्म कुनै गम्भीर घटना भएको छैन। “हामीले दलीय चिह्न अंकित तुल र ब्यानरहरू हटाउन लगाएका छौँ, केही गुनासा आए पनि ती गम्भीर प्रकृतिका छैनन्,” उनी भन्छन्।

जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी मणिराम पोखरेल अहिलेसम्म कसैले औपचारिक उजुरी नदिएको बताउँछन्।

ब्यानर, फ्लेक्स बोर्ड, झन्डा र टोपीको प्रयोगले विराटनगरका पर्खाल र पोलहरू रंगिएका छन्। तडकभडकपूर्ण प्रचारले निर्वाचनको खर्चसीमालाई गिज्याएको छ। निर्वाचन आयोगले देशभरिका निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरी उम्मेदवारको खर्च सीमा २५ लाखदेखि ३३ लाख रुपैयाँ तोकेको थियो। अधिवक्ता पेरिस सुवेदी उजुरी नपर्नु र अनुगमन फितलो हुनुले उम्मेदवारहरूको मनोबल बढ्न गएको बताउँछन्।

कोसी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्र छन्। २८ निर्वाचन क्षेत्रमा ५०५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइराला निर्वाचन आयोगले तोकेको मापदण्डविपरीत हुने प्रचारप्रसार रोक्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए। “दैनिक रूपमा जानकारीमा आउने आचारसंहिता उल्लंघनका सानातिना घटनालाई हामीले तत्कालै सम्बोधन गर्ने र सचेत गराउने काम गरिरहेका छौँ, तर गम्भीर प्रकृतिका र ठूला घटनाको सन्दर्भमा निर्वाचन आयोग आफैँले छानबिन र कारबाही प्रक्रिया अघि बढाउनेछ,” उनी भन्छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category