खाडी मुलुकका विमानस्थलमा रहेका नेपालीलाई खाने बस्ने प्रबन्ध मिलाउन सरकारको आग्रह
काठमाडौं। सरकारले खाडी मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ।
आफ्ना नागरिकको अवस्थाबारे नियमित जानकारी लिन तथा उद्धारका लागि उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्न परराष्ट्र मन्त्री बालानन्द शर्माले परराष्ट्र सचिवको संयोजकत्वमा ‘र्यापिड एक्सन टिम’ गठन गरेका हुन्।
टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा र श्रम मन्त्रालय लगायत निकायका प्रतिनिधि छन्।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले टिमले काम सुरु गरेको जानकारी दिए।
उनका अनुसार खाडी देशका विमानस्थलमा ट्रान्जिटमा रहेका नेपालीलाई खाने बस्ने प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरिएको छ।
अमेरिका र इजरायलले शनिबार आफूमाथि गरेको आक्रमणविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि खाडी मुलुकको स्थिति तनावपूर्ण छ। पश्चिम एसियाली मुलुकमा साढे १९ लाख नेपाली छन्।
मन्त्रालयका अनुसार साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा श्रम स्वीकृति लिएर गएका ४ लाख ७८ हजार १४४ र भिजिट भिसामा गएका ४ लाख ३७ हजार ४४, कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ७५ हजार, इराकमा ३० हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार, इजरायलमा ६ हजार ५००, जोर्डनमा ३०००, लेबनानमा १५००, इजिप्टमा ५०० र इरानमा ६ नेपाली नागरिक छन्।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर खाडी मुलुकमा रहेका राजदूतावास र महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय गर्ने काम गरिरहेको बताए।
मन्त्रालयले मंगलबारदेखि खाडी क्षेत्रका नेपालीलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ।
मन्त्रालयका अनुसार आफूलाई परेको अप्ठेरोबारे नेपालीहरुले पोर्टलमार्फत जानकारी गराउन सुरु गरेका छन्।
The post खाडी मुलुकका विमानस्थलमा रहेका नेपालीलाई खाने बस्ने प्रबन्ध मिलाउन सरकारको आग्रह appeared first on BIZMANDU.