npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

पोखरा महानगरको कर छुटको समयावधि चैत मसान्तसम्म

पालिका ब्यूरो 2 hours ago

पोखरा – पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्म तोकिएको कर छुटको समयावधि आगामी चैत मसान्तसम्म विस्तार गर्ने निर्णय गरेको छ । राजस्व सङ्कलन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई ध्यानमा राख्दै नगरसभाले समय थप्ने निर्णय गरेको हो ।

महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनमा गरिएको थियो। तर राजस्व सङ्कलन प्रणालीमा समस्या आएपछि कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको थियो ।

“सेवाग्राहीले चाहेर पनि प्रणालीगत समस्याका कारण समयमा कर तिर्न नसकेको अवस्था देखिएपछि कर छुटको समयावधि चैत मसान्तसम्म बढाइएको हो,” तिवारीले जानकारी दिए ।

यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेको भन्दै वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो। सोही विषयमा नगरसभामा छलफल भई समयावधि थप्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले तोकिएको समयभित्र कर तिरेर छुटको लाभ लिन करदातालाई आग्रह गरेको छ।

Read more news from PalikaNews

Explore by Source or Category