PalikaNews
गोलभेँडाले ऐतिहासिक मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित
सर्लाही — गोलभेँडाको बजार मूल्य उल्लेख्य रूपमा बढेपछि यस वर्ष सर्लाहीका किसानहरू उत्साहित बनेका छन् । ‘गोलभेँडाको सहर’का रूपमा चिनिँदै आएको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत क्षेत्रमा यतिबेला किसानलाई गोलभेँडा टिप्ने र बजार पु¥याउने चटारो छ ।
हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतो यस वर्ष गोलभेँडाबाट नसोचेको आम्दानी भएको बताउछन् । तीन बिघा खेतमा गोलभेँडा लगाएका उनले यस वर्ष असोज महिनादेखि उत्पादन सुरु भएको र अझै बिक्री जारी रहेको जानकारी दिए । “गोलभेँडाको क्रेट रु एक हजार ७०० देखि दुई हजार ७०० सम्ममा बिक्री भयो,” उनले भने,“अहिलेसम्म १२ कट्ठा खेतबाटै रु आठ लाखभन्दा बढीको बिक्री गरिसकेको छु।” अझै करिब एकदेखि डेढ लाख रुपैयाँ बराबरको गोलभेँडा बिक्री हुने अनुमान उनको छ ।
विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आउनुभएका महतो गत वर्ष भने ठूलो घाटामा परेका थिए । पाँच बिघा खेतमा लगाएको गोलभेँडाले टिप्ने खर्चसमेत नउठेपछि खेतमै ट्र्याक्टर चलाउनुपरेको उनको अनुभव छ । त्यही कारण यस वर्ष खेती क्षेत्र घटाएर तीन बिघामा सीमित गर्नुभएको थियो। “यस वर्षजस्तो मूल्य मैले कहिल्यै पाएको थिइनँ,” उनले भने, “गत वर्ष लागेको करिब १० लाख ऋण यस वर्षकै आम्दानीले तिरिँदैछ।”
गत वर्ष मूल्य नपाएपछि गोलभेँडाखेतीबाट पछि हटेका धेरै किसान यस वर्ष पछुतो मानिरहेका छन् भने जोखिम मोलेर खेती गर्ने किसान भने निकै खुसी देखिन्छन्। गत वर्ष उत्पादन धेरै र मूल्य अत्यन्त न्यून हुँदा धेरै किसानले गोलभेँडा खेतमै जोत्नुपरेको थियो । त्यसैको प्रभावले यस वर्ष धेरै किसानले गोलभेँडा रोप्ने आँट नगर्दा बजारमा मागअनुसार आपूर्ति हुन सकेन ।
स्थानीय व्यापारी विनोद खड्काका अनुसार बेमौसमी वर्षा र अघिल्लो वर्षको मूल्य गिरावटले यस वर्ष मूल्य बढ्न सहयोग गरेको हो । “नेपाल र भारत दुवैतर्फ बेमौसमी वर्षाले गोलभेँडाखेतीमा क्षति पु¥यायो,” उनले भने,“आपूर्ति घटेपछि माग बढ्नु र मूल्य बढ्नु स्वाभाविक हो।”
यस वर्ष भारतीय गोलभेँडा नेपाली बजारमा नआउनु पनि मूल्य वृद्धिको अर्को कारण बनेको छ । विगतमा यस समयमा भारतीय गोलभेँडा बजारमा प्रशस्त देखिन्थ्यो । तर, यस वर्ष भारतमै उत्पादन घटेपछि उतै मूल्य महँगो हुँदा नेपालमा आयात हुन नसकेको व्यापारीहरूको भनाइ छ ।
यस क्षेत्रका किसानहरू गोलभेँडामात्र नभई अन्य हरियो तरकारीले पनि यस वर्ष ऐतिहासिक मूल्य पाएको बताउँछन् । स्थानीय किसान धनबहादुर तामाङले पाँच कट्ठामा लगाएको भान्टाबाट अहिलेसम्म रु पाँच लाख ३३ हजार आम्दानी गरिसकेको जानकारी दिए । भान्टा प्रतिकिलो रु ७० देखि १२० सम्म बिक्री भएको उनको भनाइ छ।
हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेलका अनुसार यसअघि गोलभेँडाको मूल्य सिजनको सुरुमा मात्र राम्रो हुने र केही हप्तामै घट्ने गरेको थियो। “यसपटक भने चार महिनासम्म लगभग एकैनासको मूल्य पाइयो,” उनले भने, । विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आउनुभएका खरेलले यस्तो मूल्य जीवनमै पहिलोपटक देखेको बताए ।
हरिवन नगरपालिका–१ का किसान जितेन्द्र महतोले पनि यस वर्ष गोलभेँडाबाट राम्रो आम्दानी गर्दै सबै ऋण तिर्ने तयारीमा रहेको बताए । तीन बिघा खेतबाट अहिलेसम्म रु सात लाख बराबरको गोलभेँडा बजार पु¥याइसक्नुभएको उनले जानकारी दिए ।
सर्लाहीको उत्तरी क्षेत्र सिँचाइ सुविधाको अभावमा तरकारीखेतीमा निर्भर छ । यहाँ डिप बोरिङ नै सिँचाइको मुख्य माध्यम हो । कम पानीमा हुने गोलभेँडा, भान्टा, परवल, सिमी, बोडी, काक्रो, करेला, काउली, बन्दा, भिण्डी र खोर्सानीजस्ता तरकारी ठूलो मात्रामा उत्पादन हुने गरेका छन् । यी तरकारी लालबन्दीस्थित कृषि थोक बजारमार्फत काठमाडौं, हेटौँडा, विराटनगर, वीरगन्ज, बुटवललगायत सहरमा आपूर्ति हुँदै आएको कृषि थोक बजार लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
गोलभेँडाको यो सिजनलाई किसानहरूले ‘स्वर्ण वर्ष’का रूपमा लिएका छन्।