सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण
टक्सार। भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा)को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित रु एक लाख ७५ हजार र स्थानीय श्रमदानबाट रु ३१ हजार ६२५ को लागतमा धारा निर्माण सम्पन्न भएको बताए।
हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताए । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भने, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराको संरक्षणका लागि वडाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आइरहेको छ ।”
सशस्त्र प्रहरीको २५औँ दिवसको अवसर पारेर भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा र प्रमुख जिल्ला अधिकारी राजन पौडेलले पुनर्निर्माण भएका धाराको संयुक्त रूपमा उद्घाटन गरे । पुराना ऐतिहासिक संरचनाको पुननिर्माण र संरक्षणमा भोजपुर नगरपालिकाले बजेटको व्यवस्थापन गर्दै आएको उमप्रमुख शेर्पाले बताए।
स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानी व्यवस्था गरेकामा यो कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। विसं १९३६ मा स्थानीय पदमलाल कोइरालाले यहाँ हिटीधारा निर्माण गर्नुभएको थियो भने यसको संरक्षकमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पु-याएका थिए।