npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सुपर-८ बाट बाहिरिए तर विश्वकपबाट घर फर्कन सकेनन् जिम्बाब्वे र वेस्ट इण्डिज

Mukunda Ghimire 8 hours ago

काठमाडौं। खाडीको युद्धको प्रभाव आईसीसी टी-२० विश्वकपमा पनि परेको छ। युद्धको स्थितिपछि खाडी क्षेत्रमा हवाई क्षेत्र बन्द भएपछि २०२६ टी–२० विश्वकप खेलिरहेका टोलीहरू प्रभावित भएका हुन्।

जिम्बाब्वे  यसबाट प्रत्यक्ष प्रभावित हुने पहिलो टोली बनेको छ। दक्षिण अफ्रिकाविरुद्ध आइतबार अन्तिम खेल खेलेपछि उनीहरू अनिश्चितकालसम्म भारतमै बस्न बाध्य भएका छन्। प्रतियोगिता भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको छ।

वेस्ट इण्डिजले पनि खाडी क्षेत्रमा भएको सैन्य गतिविधिबाट उत्पन्न सुरक्षा जोखिमका कारण भारतबाट फर्किने तालिका स्थगित गर्नुपरेको जनाएको छ। वेस्ट इण्डिज क्रिकेट ले सोमबार विज्ञप्ति जारी गर्दै टोली र सहयोगी स्टाफको सुरक्षित यात्रा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सम्बन्धित सरकारी निकाय र एयरलाइन साझेदारसँग समन्वय भइरहेको जनाएको छ।

‘खेलाडी, प्रशिक्षक र पदाधिकारीको सुरक्षा र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ। टोली हाल भारतमै सुरक्षित रूपमा बसिरहेको र यात्रा टुंगो लागेपछि थप जानकारी दिने वेस्ट इण्डिजको क्रिकेट बोर्डले जनाएको छ।

प्रतियोगिता आयोजकहरूले प्रतियोगिता सकिँदै जाँदा टोलीहरूलाई स्वदेश फर्काउन वैकल्पिक रुटको खोजी गरिरहेका छन्। जानकारीअनुसार जिम्बाब्वे टोलीका सदस्यहरूलाई सोमबार बिहानबाट चरणबद्ध रूपमा फर्काउने तयारी थियो। उनीहरू दिल्लीबाट दुबई हुँदै हरारे जानका लागि इमिरेट्सको उडानमा बुक भएका थिए। तर, पश्चिम एसियाली आकाश बन्द भएपछि उडान अवरुद्ध भयो। हाल अन्य एयरलाइन र रुटको विकल्प खोजिँदैछ भने जिम्बाब्वे टोली मार्च ४ सम्म दिल्लीस्थित होटलमै बस्ने बुकिङ गरिएको छ।

जिम्बाब्वेका प्रशिक्षक जस्टिन सेमन्सले टोलीको यात्रा योजनाबारे स्पष्टता नभएको बताएका छन्। ‘खेल सुरु हुँदा त्यस्तो केही थिएन। हामी खेलमै केन्द्रित थियौं, त्यसपछि के भयो भन्नेबारे जानकारी आएको थिएन,’ उनले भने।

यसैबीच सुपर एट चरणबाट बाहिरिएको पाकिस्तानी टोली  भने कोलम्बोबाट श्रीलंकन एयरलाइन्स मार्फत लाहोर फर्किसकेको छ। समूह चरणबाट बाहिरिएको नेपाल फर्किनेसमयसम्म यस्तो अवस्था सुरु भएको थिएन। नेपालबाट भारतबीच सिधा उडान हुँदा यसमा धेरै समस्या पनि देखिएको छैन।

विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड तथा भारत र इङ्ग्ल्याण्ड भिडदै छन्। यो अवस्था अझै कायमै रहे नेपालमा मार्चमा १० बाट सुरु हुने क्रिकेट विश्वकप लिग-२ को खेल पनि प्रभावित हुन सक्ने देखिएको छ। लिग-२ को सिरिज खेल्न यूएई र ओमन नेपाल आउने तालिका छ।

शनिबारबाट अमेरिका र इजरायललेले इरान विरुद्ध आक्रमण गरेपछि क्षेप्यास्त्र आक्रमण आदान–प्रदान अझै चलिरहेको छ। यसका कारण क्षेत्रीय मात्र होइन, अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका छन्।

आईसीसीले शनिबार जारी गरेको वक्तव्यमा विकसित अवस्थामाथि निगरानी गरिरहेको र सम्पूर्ण सरोकारवालाको यात्रा, व्यवस्थापन तथा सुरक्षाका लागि आकस्मिक योजना सक्रिय गरिएको जनाएको छ। विशेषगरी दुबई जस्ता खाडी ट्रान्जिट हबमार्फत स्वदेश फर्किने खेलाडी, व्यवस्थापक, अम्पायर, प्रसारण टोली र इभेन्ट स्टाफ प्रभावित हुन सक्ने आईसीसीको भनाइ छ। आईसीसीको ट्राभल तथा लजिस्टिक्स टोलीले युरोप, दक्षिण एसिया र दक्षिण–पूर्व एसियाली हबमार्फत वैकल्पिक उडानको व्यवस्था मिलाउने प्रयास गरिरहेको जनाएको छ।

The post सुपर-८ बाट बाहिरिए तर विश्वकपबाट घर फर्कन सकेनन् जिम्बाब्वे र वेस्ट इण्डिज appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category