npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

बेदकोटका ९३ जनालाई जग्गाधनी पूर्जा वितरण

पालिका ब्यूरो 6 days ago

कञ्चनपुर — जिल्ला भूमि समस्या समाधान आयोगले कञ्चनपुरको बेदकोट नगरपालिकामा ९३ जना भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ ।

छ दशकभन्दा लामो समयदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई आज आयोजित कार्यक्रममा जग्गाधनी पूर्जा हस्तान्तरण गरिएको हो । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराका अनुसार बेदकोट नगरपालिका–८ का ६३ जना र बेदकोट–६ का ३० जना भूमिहीन नागरिकलाई पूर्जा वितरण गरिएको हो ।

नगरप्रमुख बोहराले पालिकाका बाँकी सात वडामा रहेका ५०० भन्दा बढी भूमिहीन नागरिकलाई पनि चरणबद्ध रूपमा जग्गाधनी पूर्जा वितरण गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार यसअघि सेतो पूर्जा पाएका भूमिहीन नागरिकलाई पूर्ण स्वामित्वसहितको जग्गाधनी पूर्जा प्रदान गरिएको हो ।

विसं २०२२ सालदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका स्थानीयवासीले जग्गाको कानुनी स्वामित्व पाएपछि खुसी व्यक्त गरेका छन् । स्थानीय रतनराम लुहारले भोगचलन गर्दै आएको जमिनको स्वामित्व पाउँदा भावुक हुँदै भने, “बाजेको पालादेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व आज पाएँ। ६० वर्षपछि जग्गाधनी पूर्जा पाउँदा अत्यन्त खुसी छौँ ।”

कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देशभरका स्थानीय तह र वडाहरू सक्रिय रूपमा लागे भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा वितरण प्रक्रिया अझ तीव्र रूपमा अघि बढाउन सकिने बताए । उनले भूमिहीन नागरिकको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको समेत उल्लेख गरे ।

Read more news from PalikaNews

Explore by Source or Category