npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

इन्द्र कमल रोक्का 20 hours ago

जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक सबै निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए।

जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए।

निर्वाचनका लागि आवश्यक मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ। जिल्लाभर ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएका छन् भने ६५४ कर्मचारी परिचालन भएका छन्। कुल ७१ हजार ७३९ मतदाता रहेका छन्।

सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्ध मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।

एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाल प्रहरी मतदानस्थलको भित्री घेरामा, निर्वाचन प्रहरी पहिलो तहमा, सशस्त्र प्रहरी बल दोस्रो तहमा र नेपाली सेना बाहिरी घेरामा खटिने व्यवस्था गरिएको छ।

बागलुङमा मतदानस्थलमा खटिए कर्मचारी

बागलुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन्। दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा १०७ मतदानस्थलमा सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी सुरक्षाकर्मीको टोलीसहित निर्वाचन सामग्री पठाइएको छ। सोमबार साँझसम्म सबै मतदानस्थलमा कर्मचारी पुगिसकेका छन्। निर्वाचन क्षेत्र नं १ मा ११५ मतदान केन्द्र र नं २ मा ११५ केन्द्र तोकिएका छन्। दुई अस्थायी मतदान केन्द्र पनि कायम गरिएका छन्। बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता छन्।

मुस्ताङमा पनि तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा तयारी पूरा भएको छ। निर्वाचनमा खटिने कर्मचारीलाई ५१ प्रकारका सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पठाइसकिएको छ। माथिल्लो र तल्लो मुस्ताङसहित ३९ मतदान केन्द्रका लागि कर्मचारी खटिएको सहायक मतदान अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिए।

३९ वटै मतदान केन्द्रमा सडक पहुँच भएकाले मतदान र सुरक्षा व्यवस्थापनमा समस्या नहुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिमपात रोकिएपछि अवरुद्ध साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा आएकाले मतदान र मतपेटिका ढुवानीमा समस्या नहुने बताइएको छ।

रौतहट र मोरङमा सामग्री वितरण

रौतहटका चारवटै निर्वाचन कार्यालयले वितरण गरेका सामग्री जिल्लाभरिका मतदान केन्द्रमा पुगेका छन्। चार निर्वाचन क्षेत्रका ५४१ मतदान केन्द्रमा मतपत्र, मतदान बाक्सासहित सम्पूर्ण सामग्री पुगेका छन्। जिल्लामा तीन हजार २४६ कर्मचारी खटिएका छन्। २७७ मतदानस्थल तोकिएका छन्। चार लाख ३६ हजार ६११ मतदाता रहेका छन्।

मोरङका छ निर्वाचन क्षेत्रमा पनि मतपत्र र मतपेटिकासहितका सामग्री पुगिसकेका छन्। ३०६ मतदानस्थलका ८८८ मतदान केन्द्रमा कर्मचारी खटिएका छन्। जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारी व्यवस्था गरिएको छ। मतगणनाका लागि तारजाली र सिसीटिभीसहित तयारी सुरु गरिएको छ।

भोजपुरमा ९६० कर्मचारी परिचालन

भोजपुरमा १६१ मतदान केन्द्रका लागि ९६० कर्मचारी परिचालन गरिएको छ। तीमध्ये १५९ केन्द्रमा प्रतिकेन्द्र छ जनाका दरले र दुई अस्थायी केन्द्रमा प्रतिकेन्द्र तीन जनाका दरले कर्मचारी खटाइएको छ। कर्मचारी तोकिएका स्थानमा जाने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान र मतगणनासम्बन्धी निर्देशन दिइएको छ।

निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा फागुन २२ गतेसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए।

Read more news from Kendrabindu

Explore by Source or Category