Sutra News
कोसँग डेट गर्दैछिन् मृणाल ठाकुर ?
एजेन्सी । भारतीय अभिनेत्री मृणाल ठाकुर पछिल्लो समय व्यक्तिगत जीवनका हल्लाले विस्तृत चर्चा कमाइरहेकी छिन्।
केही हप्ता अघि उनको नाम दक्षिण भारतीय स्टार धनुषसँग जोडियो, र अहिले आएर भारतीय क्रिकेटर श्रेयस अय्यरसँगको ‘गोप्य प्रेम’ को चर्चा व्यापक बनेको छ। यिनै निरन्तर फैलिरहेका हल्लाहरूबीच अभिनेत्रीले अन्ततः आफ्नो दृष्टिकोण सार्वजनिक राखेकी छिन्।
आइतबार इन्स्टाग्राममा आमासँग टाउको मालिस गराइरहेको एउटा आरामदायी भिडिओ पोस्ट गर्दै उनले क्याप्सनमा लेखिन्, ‘उनीहरू कुरा काट्छन्, हामी हाँस्छौँ। पुनश्च: हल्ला भनेको सित्तैको प्रचार हो र मलाई नि सित्तैका कुरा नै मन पर्छ।’
नाम नलिए पनि उनको यो संकेत हालसालै फैलिएका प्रेमसम्बन्धी चर्चामै केन्द्रित भएको सजिलै बुझिन्छ।
यस्तै, केही समयअघि रेडिटमा प्रकाशित एक पोस्टले मृणाल र क्रिकेटर श्रेयस अय्यर केही महिनादेखि गोप्य रूपमा डेट गरिरहेको दाबी गरेपछि विषयले झन् आगो पकड्यो। क्रिकेट फ्यानहरूको प्रतिक्रिया र मृणालको करियरको संवेदनशील चरणका कारण उनीहरूले सम्बन्ध खुलाउन नचाहेको उल्लेख थियो।
यसअघि पनि अगस्टमा फिल्म ‘सन अफ सरदार २’ को प्रिमियरमा अभिनेता धनुषसँग उनी सँगै देखिएपछि र एकअर्काका पोस्टमा कमेन्ट आदानप्रदान भएपछि दुवैको नाम जोडिएको थियो। इन्स्टाग्राममा धनुषका दिदीबहिनीलाई मृणालले फलो गरेको कुराले चर्चालाई थप बलियो बनाएको मानिन्छ।
हल्लाहरूले जति घेरा बनाए पनि मृणालको सहज, आत्मविश्वासी प्रतिक्रियाले चाहिँ उनको व्यक्तित्वलाई अझै चम्काएको छ।