npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

लन्डनमा नेपाली विद्यार्थीलाई ठक्कर दिएर ज्यान लिने बेलायती र्‍यापरलाई १२ वर्ष जेल

नेपालन्युज 2 hours ago

लन्डन । लन्डनमा भएको ‘हिट एण्ड रन’ दुर्घटनामा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको ज्यान गएको घटनामा बेलायती र्‍यापर घेट्स वास्तविक नाम जस्टिन क्लार्क स्यामुएललाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ। लण्डनस्थित ओल्ड बेली अदालतले फैसला गर्दै उनलाई जेल सजायसँगै आगामी १७ वर्षसम्म सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्धसमेत लगाएको छ।

घटनाको विवरणअनुसार १८ अक्टोबर २०२५ को साँझ उत्तर–पूर्वी लन्डनको इलफोर्डस्थित रेडब्रिज लेन इष्टमा सडक पार गर्दै गरेका युबिनलाई क्लार्क–स्यामुएलले चलाएको तीव्र गतिको बीएमडब्लु कारले ठक्कर दिएको थियो। ठक्करपछि उनी घटनास्थलमै नरोकी फरार भएका थिए। गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएका युबिनको दुई दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो।

अदालतमा प्रस्तुत प्रमाणअनुसार दुर्घटनाको बेला क्लार्क–स्यामुएलले ३० माइल प्रतिघण्टाको गति–सीमा भएको सडकमा ६० माइल प्रतिघण्टाभन्दा बढी रफ्तारमा गाडी चलाइरहेका थिए। अभियोजन पक्षले उनी मद्यपानपछि सवारी चलाइरहेको र सीसीटीभी फुटेजमा उनको ड्राइभिङ अत्यन्त जोखिमपूर्ण देखिएको दाबी गरेको छ।

सुनुवाइका क्रममा मृतक युबिनका परिवारले अदालतमा भावुक बयान दिँदै आफ्नो एकमात्र सन्तानको भविष्य लापरबाहीका कारण खोसिएको भन्दै गहिरो पीडा व्यक्त गरेका थिए। दोषी ठहरिएका र्‍यापरले भने आफूलाई “अत्यन्त पछुतो लागेको” भन्दै पीडित परिवारसँग माफी मागेका छन्। अदालतका अनुसार क्लार्क–स्यामुएलले खतरनाक ड्राइभिङ, मद्यपान सेवन र ठक्कर दिएर फरार भएको लगायतका अभियोगहरू स्वीकार गरेका थिए।

यसैबिच, युबिन तामाङको अन्त्येष्टि प्रक्रिया सम्पन्न भइसकेको जनाइएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category