सुनसरीमा ट्रक पल्टियो, एकै वडाका ५ मजदुरको मृत्यु
विराटनगर । माघे सङ्क्रान्तिको बिहानी सुनसरीको भोक्राहानर्सिङमा ट्रक दुर्घटना हुँदा एकै वडाका पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ। विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सडकको घुम्तीमा तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पल्टिएको थियो। ट्रकको पछाडि सामानमाथि बसेका पाँचै जना मजदुरको टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन्। मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।
दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए। अगाडि क्याबिनमा बसेका ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् र उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी कार्य जारी राख्नुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।