चीन र इरानका विदेशमन्त्रीबीच फोनमा के भयो कुराकानी?
काठमाडौँ। चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग फोनमा कुराकानी गरेका छन्।
२ मार्चमा भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्रीले इरानको सैन्य द्वन्द्वको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
चिनियाँ विदेश मन्त्रालयका अनुसार अराघचीले भने, “वार्ताका क्रममा अमेरिकाले इरानमाथि दोस्रोपटक आक्रमण गरेको छ। अमेरिकाको कार्य अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा छ। इरानसँग अब आफ्नो रक्षा गर्नुबाहेक अरू कुनै विकल्प छैन।”
वाङ यीले इरानसँगको आफ्नो लामो समयदेखिको मित्रताको कदर गर्ने बताएका थिए। “चीनले इरानसँगको आफ्नो लामो समयदेखिको मित्रताको कदर गर्छ र इरानको सार्वभौमसत्ता, सुरक्षा, क्षेत्रीय अखण्डता र राष्ट्रिय सम्मानको रक्षा गर्न समर्थन गर्दछ। चीनले इरानको वैध र कानुनी अधिकारलाई पनि समर्थन गर्दछ‚” चिनियाँ विदेशमन्त्री वाङले भने।
उनले मध्यपूर्वमा द्वन्द्व फैलिनबाट रोक्न तुरुन्तै सैन्य कारबाही रोक्न आग्रह पनि गरेका थिए। वाङले थप भने, “चीनले अमेरिका र इजरायललाई तनाव बढ्नबाट रोक्न र मध्यपूर्वमा द्वन्द्व फैलिनबाट रोक्न तुरुन्तै सैन्य कारबाही रोक्न आग्रह गर्दछ।”