npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचन सुरक्षाका लागि पाँचथरमा नेपाल–भारत सीमा बन्द

इन्द्र कमल रोक्का 9 hours ago

पाँचथर। जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरेको छ। प्रशासनले फागुन १८ गते मध्यरातिदेखि फागुन २१ गते मध्यरातिसम्म सीमाबाट हुने आवागमनमा रोक लगाएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सीमाक्षेत्रमा कडाइ गरिएको हो। निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिकाअनुसार उक्त निर्णय कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिए।

पाँचथर जिल्लाको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि औपचारिक सीमानाका छैन। तर सीमावर्ती क्षेत्रका बासिन्दाहरू पारिवारिक सम्बन्ध, व्यापार, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि नियमित रूपमा सीमा वारपार गर्दै आएका छन्।

विशेषगरी चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट मानिस तथा सवारीसाधनको आवागमन हुने गरेकाले निर्वाचन अवधिभर त्यसमा रोक लगाइएको प्रशासनले जनाएको छ।

यद्यपि आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स तथा सुरक्षा निकायबाट प्रमाणित अत्यावश्यक सेवाका सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

प्रशासनले सीमाक्षेत्रका बासिन्दालाई निर्वाचन अवधिभर सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category