PalikaNews
धरहराको भूमिगत पार्किङ व्यवस्थापन अब काठमाडौँ महानगरपालिकालाई
काठमाडौं – ऐतिहासिक धरहराभित्र निर्माण गरिएको भूमिगत पार्किङस्थलको व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान गरिएको छ। पुनःनिर्माणपछि तयार भएको उक्त पार्किङमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता रहेको छ ।
केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि तथा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलबीच भएको छलफलपछि पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिने निर्णय गरिएको हो ।
छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीहरू सम्मिलित समिति गठन गर्ने निर्णयसमेत गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरले ग्रहण गर्ने इच्छा व्यक्त गरेअनुसार जिम्मेवारी प्राप्त भएको बताए ।
“विसं २०५५ मा साविक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई नै प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध थियो,” उनले भने, “सडकमा भइरहेको अव्यवस्थित पार्किङको विकल्पका रूपमा सुन्धारा क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउँदै महानगर प्रहरी बल परिचालन गरी निःशुल्क सेवा उपलब्ध गराउने छौँ ।”
विसं २०७२ को भूकम्पले ढलेको धरहरा पुनःनिर्माणका लागि विसं २०७५ पुस १२ गते भूमिपूजन तथा शिलान्यास गरिएको थियो । रु तीन अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० को लागतमा पुनःनिर्माण गरिएको धरहरा ७९ दशमलव दुई मिटर अग्लो छ। बाहिरबाट ११ तला देखिने यस संरचनाभित्र २२ तला रहेका छन् ।