Sutra News
प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा, भन्छिन्– कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय होइन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विवादित आफ्नो अभिव्यक्तिलाई स्पष्ट पार्दै कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय नरहेको बताएकी छन् ।
लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्ने क्रममा दिएको अभिव्यक्ति विवादमा परेपछि आइतबार प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी हुन् ।
लैंगिक हिंसाविरुद्धको १६दिने अभियानका क्रममा सामाजिक सञ्जाल (फेसबुक) मार्फत् व्यक्त गरिएको प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदायलाई अपहेलित भएको भन्दै विवादमा परेको थियो ।
यही क्रममा आइतबार (मंसिर १६) फेसबुकमार्फत् नै प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै भनिन्, ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।’
फेसबुकमा प्रधानमन्त्री कार्कीले लेखेकी छन् :
नमस्कार
लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।