npl.977 Nepal News Stream

Himal Press logo Himal Press

मान्छे खाने बाघ मार्न आदेश

Kiran Poudel 2 hours ago

सल्यान- सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।

कालिमाटी गाउँपालिका–६ र ७ स्थित घुइयावारी क्षेत्रमा विगत एक साताको अवधिमा पाटेबाघले स्थानीय धनसरा रावत र चन्द्रबहादुर खप्तडी मगरसहित तीन जनाको ज्यान लिएको छ भने दुई वटा घरपालुवा पशु गोरु र गाईलाई आक्रमण गरी मारेर खाएको थियो ।

लगातारको आक्रमणपछि बाघले मानिसलाई खोजी खोजी खाने गरेको, गाउँमा घरबाहिर निस्कन समेत नसक्ने अवस्था सिर्जना भई स्थानीय बासिन्दा र जनप्रतिनिधि आतङ्कित बनेको भन्दै बाघ नियन्त्रण वा मार्ने आदेशका लागि सिफारिस गरिएको थियो ।
डिभिजन वन कार्यालय, सल्यानका कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै पाटेबाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गर्नुभएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधन सहित) को नियम ३६ क बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उक्त पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको हो ।

यसैबिच, कालिमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाइ राहत उपलब्ध गराएको छ । पुस २५ गते कालिमाटी–७ मा ४२ बर्षिय धनसरी रावत र पुस २९ गते मङ्गलबार वडा नम्बर–६ हात्तिढुङ्गामा ६६ वर्षीय चन्द्र बहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

पीडित परिवारको घरमै पुगेर गाउँपालिका अध्यक्ष दानबहादुर केसीले शोक व्यक्त गर्दै पालिकाको तर्फबाट प्रति परिवार ५० हजार रुपियाँ राहत उपलब्ध गराए । उनले यस क्षेत्रमा नागरिकहरू अत्यन्त पीडा र आक्रोशमा रहेको भन्दै सरोकारवाला निकायले छिटोभन्दा छिटो बाघको व्यवस्थापन, नियन्त्रण तथा आवश्यक परे ‘सुट’ गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

Read more news from Himal Press

Explore by Source or Category