Sutra News
‘विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए’
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका छन् ।
शुक्रबार बिहान कांग्रेसको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।
‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ,’ उनले भने ।

गत पुस २७ देखि चार दिन काठमाडौंमा चलेको दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापालाई चयन गर्दै नयाँ नेतृत्वलाई निर्वाचित गरेको हो ।
बिहीबार गगन समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा दस्तावेज बुझाएको छ भने शुक्रबार देउवा समूहले आयोग पुगेको हो ।
आयोगले विधि र प्रक्रिया बाहिर गएर कुनै पनि निर्णय नगरिने दुवै पक्षलाई जवाफ दिएको छ ।