PalikaNews
थारू समुदायको माघी संस्कार हराउँदै
कैलाली – थारू समुदायले माघी पर्वको पहिलो दिन घरपरिवारको वार्षिक योजना बनाउने परम्परा पछिल्लो समय हराउँदै गएको पाइएको छ । थारू अगुवा रामबहादुर दहितका अनुसार माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायमा माघ १ गते घरको समीक्षा र आगामी वर्षको योजना बनाउने महत्वपूर्ण चलन थियो ।
“माघीको पहिलो दिन विगत वर्षको समीक्षा गर्ने, वर्षभरि गर्ने कामको योजना बनाउने, सन्तानको विवाह गर्ने कि नगर्ने, घर निर्माण, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय लिने चलन थियो,” दहितले भने, “तर अहिले त्यो संस्कार विस्तारै हराउँदै गएको छ ।”
उनका अनुसार यो परम्परा थारू समुदायको सामाजिक संरचना र संस्कारसँग गहिरो रूपमा जोडिएको थियो । विशेषगरी गणप्रथाको रूपमा रहेको यो अभ्यास समुदायको सामूहिक निर्णय प्रक्रियाको महत्वपूर्ण अङ्ग भएकाले यसको संरक्षण आवश्यक रहेको उनले जोड दिए ।
परम्पराअनुसार माघ १ गते घरभित्र निर्णय गरेपछि माघ २ गते महतवाको घरमा भेला भई घर–घरका निर्णय सुनाउने चलन हुन्छ । त्यस अवसरमा वर्षभरिका कामको समीक्षा गर्ने, आगामी वर्ष विवाह गर्नुपर्ने चेलीबेटीका विषयमा सल्लाह गर्ने र सोही दिन महतवा चयन गर्ने प्रचलन रहेको छ। माघ ३ गतेदेखि भने खानपान, भेटघाट र रमाइलो गर्ने परम्परा सुरु हुन्छ ।
थारू समुदायले माघ महिनाभर माघी पर्व मनाउने चलन छ । माघीलाई थारू समुदायको नयाँ वर्षका रूपमा लिइन्छ। यस अवसरमा समुदायमा नाचगानको विशेष रौनक देखिन्छ । पाँच दिनसम्म चल्ने नाचगानमा विशेषगरी मघौटा नाच नाच्ने परम्परा रहेको छ ।
संस्कृति र परम्परा हराउँदै जाँदा थारू समुदायको मौलिक पहिचानमा असर पर्न सक्ने भन्दै स्थानीय अगुवा तथा संस्कृतिकर्मीहरूले माघी पर्वसँग जोडिएका परम्परागत अभ्यासको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।