एनआरएनएका दुई समूहबीच सिंहदरबारमा एकता घोषणा, ‘देश विकासमा सहयोगको अपेक्षा छ’
काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति (एनआरएनए)का दुई समूहबीच एकता भएको छ।
एनआरएनएका महेश श्रेष्ठ र डा. बद्री केसीको समूहले आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गरिएको एकता घोषणा सभामा श्रेष्ठ र केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
१० बुँदे सहमति अनुसार चैतभित्र एकता महाधिवेशन गरिनेछ। एकताको महाधिवेशन गर्न ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ। स्टेरिङ कमिटीका सदस्य आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन्।

प्रधानमन्त्री कार्कीले एकता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर काम गर्न एनआरएनएलाई आग्रह गरिन्। उनले नेपालको विकासमा थप सहयोग गर्न पनि आग्रह गरिन्।

‘विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ। तपाइँहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ। शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ। मुलुकको हित र विकासका लागि तपाइँहरूको थप सहयोगको अपेक्षा गरेका छौं।”
The post एनआरएनएका दुई समूहबीच सिंहदरबारमा एकता घोषणा, ‘देश विकासमा सहयोगको अपेक्षा छ’ appeared first on BIZMANDU.