Taksar News
एमाले ४ माघदेखि औपचारिक रूपमा निर्वाचन केन्द्रित हुने
काठमाडाैँ । नेकपा (एमाले) आगामी माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा सहभागी हुने भएको छ।
पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै काठमाडौँमा विशेष प्रदर्शनमार्फत फागुन २१ को निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने सन्देश दिने बताए।
बस्नेतले निर्वाचनमा नजाने बारे एमालेले कहिल्यै नकारात्मक कुरा नभएको र अहिलेको मुख्य समस्या निर्वाचनमैत्री वातावरणको अभाव रहेको पनि उल्लेख गरे। उनले जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार र भागेका कैदीहरू अझै फिर्ता नआएको आरोप लगाए।
पार्टी सचिवले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउन लागिपरेको र सरकारी वकिलको कार्यालयले लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयले भ्रष्टाचारमा संलग्नलाई राहत दिन सरकार लागिपरेको पुष्टि भएको बताए।
उनले भने “यही माघ ४ गते हामी खुला सभामार्फत चुनावमा होमिएको सन्देश दिनेछौँ। हामीले कहिले पनि चुनावमा भाग नलिने भनेका छैनौँ। अहिलेको अवस्था निर्वाचनको लागि अनुकूल छैन। प्रहरी र प्रशासनको मनोबल कमजोर छ। न्यायालय र सेनाको मनोबल पनि कमजोर छन्। प्रहरीहरू घाइते छन्, लुटिएका हतियार र भागेका कैदी अझै फिर्ता भएका छैनन्। अपराधिक गतिविधि बढिरहेका छन्। अदालत जल्ने कुरा मात्रै होइन, न्याय नै जलिरहेको छ।”
बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘नागरिक सरकार’ भन्दै रवि लामिछानेको गतिविधि र कुलमान घिसिङको राजीनामासँग जोडेर सरकारका मन्त्रीहरूको चालाकीले पुराना दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको पनि दाबी गरे।