npl.977 Nepal News Stream

Taksar News logo Taksar News

रास्वपा र विवेकशील साझाबिच एकीकरण, ‘घण्टी’ चिन्हसहित संयुक्त राजनीतिक यात्राको घोषणा

टक्सार न्युज 13 hours ago

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिचको एकीकरण आज औपचारिक रूपमा सम्पन्न भएको छ।

दुवै पार्टीले मुलुकमा सुशासन, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, बहुलवादी लोकतान्त्रिक प्रणालीको मजबुत अभ्यास र नागरिकका आकांक्षा सम्बोधन गर्ने लक्ष्यसहित एकीकृत भएको घोषणा गरेका छन्।

एकीकरणसम्बन्धी जारी गरिएको संयुक्त दस्तावेजमा नेपालमा वैकल्पिक राजनीतिको मार्ग प्रशस्त गरेका स्व. उज्वल थापाको योगदानलाई औपचारिक रूपमा दस्तावेजीकरण गरी सम्मान गर्ने उल्लेख गरिएको छ। साथै, रास्वपाको राजनीतिक सिद्धान्त, नेतृत्व र मूल्य–मान्यतालाई विवेकशील साझाले निःशर्त स्वीकार गर्ने सहमति भएको छ।

रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि गठन गरिएको “फेडरल लिडरशिप फोरम”मा विवेकशील साझाबाट एकीकरण प्रक्रियाबाट आएका नेताहरूलाई आपसी सहमतिमा मनोनयन गरिनेछ। फोरमका सदस्यहरूको वरियतासमेत केन्द्रीय समितिका सदस्यसरह मानिनेछ। विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक तथा स्थानीय संरचनामा योग्यताको आधारमा समायोजन गरिने उल्लेख छ।

एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने छ। पार्टीको झण्डा र चुनाव चिन्ह ‘घण्टी’ पनि यथावत् रहने सहमति भएको छ। दुवै पार्टीबिच एकीकरणका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा दस्तावेज दर्ता गर्ने तयारी सुरु गरिएको छ।

दुवै पक्षले एकीकृत पार्टीअन्तर्गत सुशासन र समुन्नतिका लागि प्रतिबद्ध वैकल्पिक राजनीतिक शक्तिहरूलाई पनि साझा अभियानमा जोडिन आग्रह गरेका छन्।

Read more news from Taksar News

Explore by Source or Category