Sutra News
ओली समूहबाट को बन्दैछ महासचिवको उम्मेदवार ? तीन आकांक्षीलाई मिलाउन देखियो सकस
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा पदाधिकारी चयनको अन्तिम चरणमा पुगिरहँदा अघिल्लो शुक्रबार एकाएक सात ‘हेभ्भी वेट’ नेताहरू अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुले। जबकि उनीहरू ओली र वरिष्ठ नेता ईश्वर पोखरेल दुवै समूहसँग निरन्तर संवादमा थिए।
पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न दुवै पक्षले संयम अपनाउनुपर्ने, अराजनीतिक तथा व्यक्तिगत आलोचनाबाट टाढा रहनुपर्ने र संवादलाई निरन्तरता दिनुपर्ने सहमति भएको भन्दै उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, तथा सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले ओलीको समर्थन गर्ने निर्णय गरे।
सात ‘हेभ्भी वेट’ नेताहरू आफ्नो पक्षमा खुलेसँगै अध्यक्ष ओलीलाई अवसर र चुनौती दुवै भएको छ। एकातिर पार्टीभित्र १० वर्षदेखि एकछत्र राज गरिरहेका ओलीलाई यसपटक वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि अप्ठ्यारो परिरहेको छ भने अर्कातिर आफ्नै समूहका नेताहरूलाई व्यवस्थापन गर्न नसक्दा अर्को चुनौती थपिएको छ।
त्यसमध्ये पनि ओलीलाई सबैभन्दा बढी सकस देखिएको पद ‘महासचिव’ बनेको छ। विभिन्न संचारमाध्यमहरूले उल्लेख गरेअनुसार यसपटक ओली समूहका तीन जनाले महासचिवको आकांक्षा देखाएका छन्। त्यसमा बहालवाला महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले ओलीलाई आ-आफ्नो आकांक्षा बताइसकेका छन्।
एमालेको मौजुदा विधान १५ पदाधिकारीको संख्यामा अध्यक्ष १, उपाध्यक्ष ५, उपमहासचिव १, महासचिव १ र सचिव ७ रहने व्यवस्था छ। यसपटक वरिष्ठ उपाध्यक्ष हटाइएको छ। केन्द्रीय कमिटी बैठकले वरीयताक्रम निर्धारण गर्नेछ।
‘शंकर पोखरेलले अध्यक्षसामु महासचिव नै बन्ने आकांक्षा व्यक्त गरिसक्नुभएको छ। अध्यक्षमा ओली नै दोहोरिने भएपछि अध्यक्षपछिको कार्यकारी पदमै बस्ने उहाँको चाहना देखिन्छ,’ सचिवालय तहका नेताले संचारमाध्यममा भनेका छन्, ‘महासचिव बसेपछि पार्टीको कमान्ड आफ्नो हातमा हुने भएकाले उहाँको रूचि त्यता देखिएको हो।’
प्रेस चौतारीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव गुरूङले स्पष्ट रूपमा आफूले महासचिव दाबी गरेको बताएका थिए। ‘महासचिव नै दाबी गरिरहेको छु नि मैले। दाबी त गर्न पाइयो नि,’ उनले भनेका थिए।
उता, अर्का उपमहासचिव ज्ञवाली त झन् ओलीका पुराना सहयात्री हुन्। ओलीले संसद विघटन गर्दाताका होस् वा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी फुटको बेला होस् वा माधव नेपाललगायतले एमाले फुटाउँदा होस् वा हालै प्रधानमन्त्रीका रूपमा ओलीले सामाजिक संजाल बन्द गर्दा होस्, ज्ञवालीले ओलीको बचाउ गरिरहेका छन्। त्यस हिसाबले पनि उनी आफू महासचिवको उम्मेदवार हुनेमा ढुक्क देखिन्छन्।
तर तीनै जना ‘हेभ्भी वेट’ नेताको व्यवस्थापन त्यसमा पनि महासचिवमै व्यवस्थापन गर्नमा ओलीलाई सकस पर्ने देखिन्छ। भलै, सार्वजनिक खपतका लागि ओलीले पार्टीभित्र सन्तुलन मिलाउने गरी आफूहरूलाई समेटेर लैजानुपर्ने उनीहरूले बताउँदै आएका छन्।
फेरि पनि यसपटक ओलीले आफ्नै सहयात्री पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनका अध्यक्ष उठेका पोखरेलविरूद्ध चुनाव लड्नुपर्ने छ। उनको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले समर्थन गरिसकेका छन्। त्यति मात्र हैन, देशभर चुनिएका महाधिवेशन प्रतिनिधिको उल्लास पनि ओली इतर समूहमा प्रष्टै देखियो।