PalikaNews
स्थानीय तहबाटै प्यान कार्ड जारी
गोरखा – हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नम्बर (प्यान) वितरण सेवा सुरु गरेको छ। गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये स्थायी लेखा नम्बर वितरण सुरु गर्ने चुमनुब्री पहिलो स्थानीय तह बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ,।
सरकारले गोरखासहित ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेपछि ती कार्यालयबाट प्रवाह हुँदै आएका कतिपय सेवासुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) वा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सरकारको सोही निर्णयअनुसार चुमनुब्री गाउँपालिकाले स्थानीय तहबाटै करसम्बन्धी सेवा शुभारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए ।
उहाँका अनुसार बुधबार गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, दमौलीबीच सम्झौता भएको छ । सम्झौताअनुसार गाउँपालिकाबाट स्थायी लेखा नम्बर (प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्न सकिनेछ ।
सम्झौताअनुसार गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका करदातालाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कलगायतका कर सिफारिस गर्ने, दर्ता प्रमाणपत्र तथा इजाजतपत्र उपलब्ध गराउने, संशोधन गर्ने तथा आफूबाट हुन नसकेका काम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
पालिकाबाट कर सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापन गाउँपालिकाले नै गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए । उनका अनुसार कर सेवा सञ्चालनका लागि आन्तरिक राजस्व विभागबाट सञ्चालित पोर्टल प्रयोग गर्नुपर्ने र उक्त पोर्टल सञ्चालनसम्बन्धी तालिम तथा प्राविधिक जानकारी विभागले पालिकाका कर्मचारीलाई उपलब्ध गराउने सम्झौता भएको छ ।
करदातालाई सेवा प्रवाहमा सहजीकरण र समन्वयका लागि गाउँपालिका र आन्तरिक राजस्व कार्यालयले एक–एक जना अधिकृतस्तरका कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोक्ने निर्णय पनि सम्झौतामा उल्लेख गरिएको छ । सेवा प्रवाहका क्रममा समस्या आएमा आन्तरिक राजस्व विभागसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ ।
यता, करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णय बुधबारदेखि लागू भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) गोरखाका प्रमुख इन्द्रप्रसाद पौडेलले जानकारी दिए । कर कार्यालय खारेज भएसँगै कोलेनिकाले बुधबारबाटै करसम्बन्धी सेवा प्रवाह सुरु गरेको उनले बताए , ।
“पहिलो दिनमै करसम्बन्धी सेवाग्राहीको सङ्ख्या धेरै देखियो,” प्रमुख पौडेलले भने,“कर कार्यालयको कामकारबाही बुझ्न समय लाग्ने भएकाले त्यहाँका कर्मचारी केही समय यहीँ बसेर काम गर्नेछन् । क्रमशः आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा प्रवाहलाई निरन्तरता दिनेछौँ ।”
उनका अनुसार पहिलो दिन स्थायी लेखा नम्बर (प्यान) वितरण र कर चुक्ता सम्बन्धी सेवा प्रदान गरिएको थियो ।