कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ सम्म, खड्काको प्रस्ताव केन्द्रीय समितिबाट पारित
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस अन्तिम साता गर्ने निर्णय भएको छ।
केन्द्रीय समितिको सोमबार बसेको बैठकले नियमित महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको प्रस्ताव पारित गरेको छ।
खड्काले संस्थापन र विशेष महाधिवेशन पक्षधरसँग पटकपटक छलफल गरेपछि मिति प्रस्ताव गरेका थिए।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कार्यबाहक समापतिले राखेको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको जानकारी दिए।

केन्द्रीय समितिले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणका लागि मंसिर २५ सम्मको समय तोकिएको छ।
गाउँ/नगर वडा अधिवेशन पुस १६, गाउँ/नगर अधिवेशन पुस १७ र प्रदेश सभा/क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय गरिएको छ।
खड्काले निर्वाचनअगाडि महाधिवेशन गर्ने तालिका ल्याउन लागेको थाहा पाएपछि संस्थापन पक्षका केही नेता असन्तुष्ट भएका थिए। विमलेन्द्र निधि, कृष्ण सिटौला लगायत नेताले सोमबार बिहानै सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनपछि मात्र महाधिवेशन गर्न सकिने बताएका थिए।

देउवाले भने अहिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्न पनि पुसको अन्तिममा महाधिवेशन तोक्नु ठीक हुने जवाफ दिएका थिए।
देउवाले तत्कालका लागि कार्यवाहक सभापति खड्काको प्रस्ताव मानेर अघि बढ्न भनेपछि निधि र सिटौला फर्किएको केन्द्रीय सदस्य रणबहादुर रावलले जानकारी दिए।
विधानअनुसार कांग्रेसको १४औं महाधिवेशनबाट चुनिएको कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिंदैछ। बैठकले केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपेको छ।
The post कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ सम्म, खड्काको प्रस्ताव केन्द्रीय समितिबाट पारित appeared first on BIZMANDU.