फाफ डु प्लेसिस आए नेपाल, जिताउलान त विराटनगरलाई एनपीएलको ट्रफी ?
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस आज नेपाल आएका छन् ।
उनी आज अपरान्ह ४ः३० बजे कतार एयरवेजको फ्लाइट मार्फत नेपाल आइपुगेका हुन् । प्लेसिस एनपीएल खेल्न आउने हाइ प्रोफाइल खेलाडीमध्ये एक हुन् । उनी विराटनगर किंग्समा आबद्ध छन् । फाफ अबुधाबरी टी–१० लिग खेलेर युएईबाट सिधै नेपाल आएका हुन् ।
फाफलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ । विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । उक्त खेलमा डु प्लेसिस उपलब्ध हुनेछन् । उनको उपस्थितीलाई लिएर नेपाली दर्शक निकै उत्साहित छन् । दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसले आईपीएलका १५४ खेल खेलेका छन् । उनले २०१२ मा चेन्नई सुपर किंग्स (सिएसके) मार्फत आईपीएल यात्राको सुरुवात गरेका थिए । उनी राइजिङ पुणे सुपरजायन्ट्स, रोयल च्यालेन्जर्स बेंगलोर र दिल्लीबाट पनि खेलेका छन् । फाफले १३५.७८ को स्ट्राइक रेटमा ४७७३ रन बनाएका छन्, जसमा ३९ अर्धशतक समावेश छन् ।
उनीसँग इंग्ल्याण्ड, दक्षिण अफ्रिकका, भारत, अस्ट्रेलिया, पाकिस्तान, अमेरिका, वेस्ट इन्डिजका फ्रेन्चाइज लिग खेलेको अनुभव छ । सन् २०१२ देखि आईपीएलमा सहभागिता जनाइरहेका फाफ डु प्लेसिसले १ सय ५४ खेल खेल्दा ३९ अर्धशतकसहित ४ हजार ७ सय ७३ रन बनाएका छन् ।
उनले सन् २०१८ र २०२१ मा चेन्नईबाट आईपीएल जितेका पनि थिए । उनको आगमनलाई विराटनगरका लागि मात्र होइन, नेपाली क्रिकेट समर्थकका लागि पनि निकै अर्थपूर्ण र उत्साहपूर्ण हुने आशा गरिएको छ ।