भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
काठमाडौँ — आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।
भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आइतबार उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।
घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए ।
उनले धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको बताए । उनका अनुसार सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको छ ।