npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

काठमाडौ महानगरको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान, थप आठ वडामा अध्ययन सुरु

पालिका ब्यूरो 4 days ago

काठमाडौं — काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम यकिन गरिएको जनाएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणमा सम्पन्न अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम पहिचान गरिएको जानकारी दिएको हो ।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पहिलो चरणमा वडा नं. ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं. ८, १७, १९, २० र २५ मा अध्ययन सम्पन्न गरिएको थियो। अध्ययनका क्रममा सम्बन्धित वडाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान र बस्तीको मौलिक एवं प्राचीन नामको खोज, अभिलेखीकरण तथा प्रमाणीकरण गरिएको उनले बताए ।

यसैबीच, महानगरले तेस्रो चरणमा थप आठ वटा वडामा अध्ययन अघि बढाउने भएको छ । तेस्रो चरणअन्तर्गत वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानहरूको मौलिक र प्राचीन नामको अध्ययन गरिनेछ। यस सम्बन्धमा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्द मात्र नभई इतिहास, संस्कृति, सभ्यता र समाजको कथा बोकेको पहिचान भएको बताए । “हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन,” उनले भने, ।

नामसम्बन्धी परिचय पाटी राख्ने सन्दर्भमा उनले दृश्य प्रदूषण नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिँदै सकेसम्म पहिलेकै स्थानमा राख्न र अन्यथा आँखा नबिझाउने तथा अरूलाई असर नपर्ने ठाउँमा राख्न सुझाव दिए ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल र पाटीहरूको विस्तृत अध्ययनबाट प्राचीन नाम पहिचान गरिन्छ। त्यसरी पहिचान गरिएका नामहरूलाई स्थानीयवासी, समुदायका प्रतिनिधि, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग पुष्टि गराएर अन्तिम रूप दिइने विभागले जनाएको छ ।

महानगरले ऐतिहासिक पहिचान जोगाउने तथा सहरी विकासलाई सांस्कृतिक मौलिकतासँग जोड्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category