npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास उस्तै, ‘कारोबार नर्मल छ, विथड्र एब्नर्मल छैन’

Sudarshan Shrestha 5 hours ago

काठमाडौँ । उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास भने नघटेको पाइएको छ । बैंकिङ कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले बैंकका उच्च पदस्थहरुलाई पक्राउ गर्दा पनि बैंकप्रति ग्राहकको विश्वास भने उस्तै रहेको पाइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदस्थ कर्मचारी पक्राउ गर्दासमेत बैंकप्रति ग्राहकको विश्वास नघटेको बैंककै कर्मचारीहरुले दाबी गरेका छन् ।

‘सिइओ सरसहित उच्च पदस्थ कर्मचारी पक्राउ पर्दा सुरुमा हामी नै डराएका थियौँ । बैंकप्रति ग्राहकको विश्वास घट्ने हो कि भन्ने चिन्ता थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका एक उच्च अधिकारीले भने, ‘तर परिस्थिति सोचेको भन्दा फरक भइदियो । बैंकप्रति ग्राहकको विश्वास उस्तै छ । घटेको छैन ।’

ती अधिकारीका अनुसार बैंकमा कारोबार पनि सामान्य नै छ । अर्कोतर्फ सामान्यतः बैंकको नेतृत्वमाथि प्रश्न उठेका बेला ग्राहकको विश्वास गुम्दा विथड्र गर्नेहरु बढ्ने गरे पनि प्रभु बैंकको केसमा त्यस्तो नभएको ती अधिकारीको दाबी छ । ‘बैंकको कारोबारमा कुनै फरक छैन । सबै कुरा नर्मल चलिरहेको छ ।’, उनले भने, ‘विथड्र पनि एब्नर्मल छैन । सबै नियमितजस्तै छ ।’

मंसिर १४ गते सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ), बैंकका डेपुटी सिइओ मणिराम पोखरेल, बैंकका कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो । यो समाचार तयार गर्दासम्म उनीहरु सीआईबीकै हिरासतमा छन् । हाल बैंकले निरज लम्साललाई बैंकको कार्यवाहक सिइओ जिम्मा दिएको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category