‘संसदलाई पार्टीको मुख्यालय बन्न दिन्नँ’: खड्का
विराटनगर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ६ बाट सामाजिक अभियन्ता किरण खड्काले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। बिहीबार विराटनगरमा आयोजित एक भिन्न शैलीको कार्यक्रममा खड्काले नागरिकहरूसँग ‘वान-टु-वान’ संवाद गर्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्।
संवादबाटै उम्मेदवारीको शङ्खघोष कुनै औपचारिक भाषणबाजी नगरी आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित युवा तथा स्थानीयले रोजगारी, शिक्षा र कृषिबारे राखेका जिज्ञासाको जवाफ दिँदै खड्काले संसदमा जनताको निर्भीक आवाज पुर्याउने प्रतिबद्धता जनाए। “जब प्रतिनिधि पार्टीको ह्विप र आदेशमा बाँधिन्छ, संसद जनताको होइन पार्टी मुख्यालयको ओछ्यानजस्तो बन्छ,” उनले टिप्पणी गरे, “म संसदलाई पार्टीको विस्तारा बन्न दिन्नँ।”
मजदुर र कृषकका मुद्दा मुख्य प्राथमिकता यातायात मजदुरको हकहित र कृषकका समस्यामा लामो समयदेखि सक्रिय खड्का विराटनगर क्षेत्रमा ‘खरो’ स्वभावका अभियन्ताका रूपमा चिनिन्छन्। रिगलको रिहाइ विरुद्धको आन्दोलन होस् वा नहर सरसफाइ र वृक्षरोपण अभियान— उनको समूहले सामाजिक न्यायका लागि सडकदेखि निकायसम्म दबाब दिँदै आएको छ। उम्मेदवारी घोषणाका क्रममा उनले युवा पलायन, उत्पादनको उचित मूल्य र स्वास्थ्य-शिक्षामा हुने राजनीतिक हस्तक्षेपलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए।

स्वतन्त्र धरातल जोगाउने संकल्प स्थापित अनुहारहरू स्वतन्त्रको नाममा आएर पछि दलमा समाहित हुने प्रवृत्तिले ‘स्वतन्त्र धरातल’ शून्य हुँदै गएकोमा खड्काले चिन्ता व्यक्त गरे। उनले भने, “मेरो उम्मेदवारी सूर्यलाई रोक्ने प्रयास होइन, सूर्यको तापले जलेका नागरिकलाई छाया दिने प्रयास हो।” आफू सत्ता प्राप्तिका लागि नभई दलीय शासनभित्र जनताको आवाजको सन्तुलन मिलाउन उत्रिएको उनले प्रष्ट पारे।
करिब २०० युवा तथा स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रमले मोरङ ६ को चुनावी प्रतिस्पर्धालाई थप रोचक र अर्थपूर्ण बनाएको छ। खड्काको घोषणासँगै यस क्षेत्रमा स्वतन्त्र राजनीतिको बहस फेरि नयाँ उचाइमा पुगेको छ।