चुनावमा भोट हाल्न जानेको लर्कोले बिपी राजमार्गमा चाप, पुनर्निर्माण भइरहेको सडकमा सहज छैन यात्रा
काठमाडौं। निर्वाचनमा मत हाल्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या वृद्धि भएसँगै बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।
रात्रिबस सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा माइक्रोबस, सुमो र निजी सवारीसाधनको चाप बढेको हो। झापा लगायत पूर्वी जिल्ला जानेहरुले छोटो दूरीका कारण बिपी राजमार्ग हुँदै यात्रा गर्ने गरेका छन्।
तर ती यात्रुको यात्रा भने राजमार्गको खराब अवस्थाका कारण कष्टकर बनेको छ। २०८१ असोजको बाढी पहिरोले क्षतिग्रस्त राजमार्ग अहिले पुनर्निर्माणको क्रममा छ। जसका कारण घन्टौँसम्म जाम हुने गरेको छ।
भकुन्डेबेंसी पार गरेलगत्तै बाढीले सडक बगाएको क्षेत्र भेटिन्छ। त्यहाँ डाइभर्सन गरी रोशी खोलाको किनारैकिनार यात्रा गर्ने व्यवस्था मिलाइएको छ।
नदी किनाराबाट यात्रा गर्नुपर्दा सवारी बिग्रिने र टायर छिट्टै फेर्नुपर्ने अवस्था रहेको चालकहरूको गुनासो छ। ‘सडक पुनर्निर्माण नभएकाले अहिले यात्रा गर्न समय त लाग्छ नै, त्यसमाथि यस्तो बाटोमा गाडी कुदाउँदा मर्मत खर्च पनि बढेको छ,’ काठमाडौंबाट झापामा माइक्रोबस चलाउँदै आएका दीपक रेग्मीले भने।
भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक दुई लेनमा पुनर्निर्माण भइरहेको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बाढीले बगाएका स्थानमा आरसीसी वाल, मेसिनरी वाल र सडक फराकिलो बनाउन कटिङको काम भइरहेको छ।
कतिपय स्थानमा खोलादेखि नै ५.५ मिटर गहिराइसम्म माइक्रो पाइलिङ गरी आरसीसी ढलानसहितको संरचना बनाइएको छ। उनले ‘वास आउट’ भएका स्थानमा कमजोर जमिनलाई बलियो बनाउन माइक्रो पाइलिङ गरेर माथि आरसीसी वाल निर्माण भइरहेको जानकारी दिए।
पिप्लेदेखि बर्खेखोलासम्मको खण्डमा अझै काम सुरु हुन सकेको छैन। सिन्धुलीतर्फ नेपालथोकको झोलुंगे पुल नजिकबाट पुनर्निर्माण सुरु गरिएको छ। यो खण्डमा आरसीसी वाल र माइक्रो पाइलिङको काम भइरहेको छ।
The post चुनावमा भोट हाल्न जानेको लर्कोले बिपी राजमार्गमा चाप, पुनर्निर्माण भइरहेको सडकमा सहज छैन यात्रा appeared first on BIZMANDU.