जनविश्वासलाई विकासमा रूपान्तरण गर्नेछु : ज्ञामनाथ गैरे
बागलुङ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले बागलुङ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। गलकोट नगरपालिकासहित क्षेत्रका विभिन्न स्थानमा बाइक–गाडी -याली, घरदैलो, अन्तरक्रिया र कोणसभा गर्दै उनले आफूलाई “दलको उम्मेदवारभन्दा आफ्नै छोरा, दाजु र भाइ” का रूपमा साथ दिन मतदातासमक्ष आग्रह गरेका छन्।
“बाँचुन्जेल बागलुङको सेवा गर्न पाऊँ, मलाई दलको होइन आफ्नै छोरा सम्झेर साथ दिनुहोस्,” उनले भने, “फागुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गरेर बागलुङ–२ को भविष्य सुरक्षित गरौँ।”
विकासको स्पष्ट खाका
चुनावी सभामा बोल्दै गैरेले बागलुङका विकास सम्भावनालाई गति दिन ठोस कार्यक्रम अघि सारे। उनले मध्यपहाडी लोकमार्गको स्तरोन्नति, ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, पुल निर्माण, खानेपानी र विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने बताए।
ढोरपाटन शिकार आरक्षलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने, चिस्यान केन्द्र स्थापना गर्ने, सिँचाइ विस्तार गर्ने तथा साना जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने योजना उनले सार्वजनिक गरे।
“हाम्रो भूमि, हाम्रो श्रम र हाम्रो संकल्प मिल्यो भने बागलुङ देशकै नमुना जिल्ला बन्न सक्छ,” उनले भने, “अब अवसरबाट वञ्चित रहने दिन सकिएको छ।”
युवालाई स्वदेशमै अवसर
गैरेले युवाहरूलाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न उत्पादन, उद्यम र प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने स्पष्ट योजना रहेको बताए। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप स्वदेशमै उपयोग गर्ने वातावरण बनाउने, घरेलु उद्योग र पशुपालन प्रवद्र्धन गर्ने तथा स्वरोजगार कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए।
“अब बागलुङका युवाले बाध्य भएर विदेशिनु पर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने, “रोजगारी सिर्जना नगरी विकास सम्भव हुँदैन।”
शिक्षा र स्वास्थ्यमा सुधार
शिक्षा क्षेत्रमा सरकारी विद्यालयको गुणस्तर सुधार, शिक्षक तालिम, शैक्षिक सामग्री उपलब्धता र पूर्वाधार विस्तारमा लगानी बढाउने उनले बताए। स्वास्थ्य सेवामा गाउँ–टोलसम्म पहुँच सुनिश्चित गर्न प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण, मोबाइल स्वास्थ्य सेवा प्रभावकारी बनाउने तथा विकट बस्तीमा गुणस्तरीय उपचारको व्यवस्था मिलाउने योजना उनले सुनाए।
सुशासन र पारदर्शिता
“म नेता होइन, जनताको सेवक हुँ। राजनीति पेशा होइन, सेवा हो,” भन्दै गैरेले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता दोहो¥याए। इमानदार, पारदर्शी र उत्तरदायी प्रशासनमार्फत परिणाममुखी राजनीति गर्ने उनको भनाइ छ।
उनले जनयुद्धले स्थापित गरेको परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय र समृद्धिको यात्रालाई अघि बढाउने बताए। “यो निर्वाचन व्यक्तिको जित–हार होइन, बागलुङको भविष्यको दिशा तय गर्ने अवसर हो,” उनले भने।
गैरेको गहिरो जनसम्पर्क
जनयुद्धकालदेखि सक्रिय कम्युनिस्ट नेता गैरे बागलुङको पश्चिमी भेग-ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड र गलकोटका केही भागमा गहिरो जनसम्पर्क भएका नेताका रूपमा चिनिन्छन्। पार्टी संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म जिम्मेवारी सम्हाल्दै आएका उनी वैचारिक रूपमा दृढ र संगठनात्मक रूपमा सक्षम नेताका रूपमा परिचित छन्।
गैरेमाथि अहिलेसम्म कुनै आर्थिक वा नैतिक विवाद नआएको उनका समर्थकहरूको दाबी छ। आफ्नै पार्टीभित्र मात्र नभई अन्य दलका नेता, कार्यकर्ता र स्वतन्त्र नागरिकबीच पनि सादगी र इमानदार नेताका रूपमा सम्मानित रहेको बताइन्छ।
घरदैलो र अन्तरक्रिया
गैरेसहितको निर्वाचन परिचालन टोलीले तमानखोला गाउँपालिका–२ का खलवाङ, खोलेसवाङ मिलनटोल, भैयरबोङगा, किस्तिवाङ, वुङखानीलगायत सवै क्षेत्रका युवा, किसान, उद्योगी, मजदुर, ज्येष्ठ नागरिक, विद्यार्थी,शिक्षक र स्थानियसंग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।
स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, इन्टरनेट, कृषि, सिँचाइ र रोजगारीका विषयमा सुझाव राखेका छन्। “जनताको घरदैलोमा पुगेर समस्या सुन्नु नै मेरो राजनीति हो,” गैरेले भने, “सत्तामा पुगेपछि मात्र सेवा गर्ने सोच मेरो होइन। विकास कागजमा होइन, जनताको जीवनमै देखिनुपर्छ।”
कडा चुनावी प्रतिस्पर्धा
बागलुङ–२ मा कांग्रेस, एमाले र नेकपा गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा र राजमोबीचको तालमेलले चुनावी समीकरणलाई थप रोचक बनाएको छ। वाम–लोकतान्त्रिक शक्तिको साझा उम्मेदवारका रूपमा उभिएका गैरेले पार्टी नेतृत्वको विश्वास प्राप्त गरेको बताइन्छ।
भावनात्मक अपिल
सभाको अन्त्यमा उनले मतदातासँग भावनात्मक अपिल गर्दै भने, “तपाईंहरूले दिएको जिम्मेवारीलाई म अवसर होइन, कर्तव्यका रूपमा लिनेछु। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। यही शक्तिका आधारमा बागलुङ–२ लाई विकास, समृद्धि र आत्मनिर्भरताको मार्गमा अघि बढाउनेछु।”
फागुन २१ नजिकिँदै जाँदा बागलुङ–२ मा चुनावी माहोल तातिएको छ। तारा चिन्हप्रति मतदाताको विश्वास कति दरिलो हुन्छ भन्ने निर्णय अब मतदान परिणामले गर्नेछ।