npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

गगनलाई विदेशीको इशारामा पार्टी फुटाएको आरोप लगाएका देउवा आफैं चाहिं कसरी आएका थिए शक्तिमा?

Basudev Timalsina 5 hours ago

काठमाडौं। पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएपछि त्यही रात नेपाली कांग्रेसका संस्थापन पक्षका मध्यमार्गी नेता सभापति शेरबहादुर देउवाकहाँ पुगे।

उनीहरुले विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरी पार्टीलाई कुनै पनि हालतमा फुट हुनबाट जोगाउन दबाब दिए।

ती मध्यमार्गी नेतासँग देउवाले पार्टीलाई एकढिक्का राख्नका लागि लचक हुन आफू तयार रहेको भन्दै गगन र विश्वप्रकाशमाथि पार्टी फुटाउन उद्दत रहेको आरोप लगाए।

‘मेरो लचकताले काम गर्छजस्तो लाग्दैन। उहाँहरुले मैले सबै माग पूरा गरे पनि पार्टी फुटाउने उद्देश्य लिएको देख्छु,’ देउवालाई उद्यृत गर्नै उनको निवासको रात्रिकालीन छलफलमा सहभागी एक नेताले भने, ‘देश नै संकटमा परेका बेला पार्टी फुटाएर थप समस्यामा पार्नका लागि केही विदेशी शक्तिले गगन र विश्वलाई उचालेका छन्।’

देउवाले कुनै देशको नाम लिएनन्। उनले विदेशीको इशारामा पार्टी विभाजन गर्ने प्लट अनुसार नै गगन र विश्व अगाडि बढेको आरोप लगाए। संस्थापन पक्षका केही शीर्ष नेताले पनि देउवाको भनाइमा सही थपे।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विदेशीको इशारामा संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन लगायत सार्वजनि र निजी सम्पत्तिमा आगो लगाइएको र त्यही शक्तिको इशारामा अहिले पार्टी फुटाउने गतिविधि भइरहेको निष्कर्ष देउवा र उनी पक्षका नेताले निकाले।

कुनै पनि विवादमा आफ्नो कमजोरी लुकाउन कुनै देशको नाम नलिइ विदेशीमाथि दोष थोपर्ने आफूलाई ‘कम्युनिष्ट’ भन्ने वामपन्थी पार्टीहरुको प्रवृति पुरानै हो।

तर, लोकतान्त्रिक दल नेपाली कांग्रेसको शीर्ष तहमा भने पहिलो पटक यसरी बहस भएको हो। सत्ता प्राप्तिका लागि चुनावमा भाग लिंदादेखि सरकार निर्माणमा एकपछि अर्को वामपन्थीसँग सहकार्य गरेर ‘सिद्धान्त’ पोलेर खाएको कांग्रेसको नेतृत्वमा पनि आफूसँग असहमत हुनेलाई विदेशीको इशारामा पार्टी फोडेको आरोप लगाउने तहमा पुगेको ती मध्यमार्गी नेतालाई उचित लागेन।

किनभने उनीहरु देउवा कसरी शक्तिमा आएका थिए भन्नेमा जानकार थिए। देउवा राजनीतिमा शक्तिशाली बन्नुका पछाडि अमेरिकाको ब्याकअप रहेको केही घट्नाक्रमले देखाएको थियो।

‘दूर्भाग्य उनै देउवाले सांकेतिक रुपमा आफूलाई शक्तिशाली बनाएको देशमाथि नै पार्टी फुटाएको आरोप लगाउन भ्याए। राजनीति क्रुर हुन्छ। कम्युनिष्ट नेताहरुले आफू पदच्यूत हुँदा वा कमजोर भएपछि देशलाई सहयोग गर्ने विदेशी शक्तिलाई गाली गरेको हामीलाई नौलो लाग्दैन। तर तयार देउवासमेत अहिले त्यही बाटोमा हिंडेको देख्दा अचम्म लागेको छ,’ ती नेताले भने।

हुँदा हुँदा आफूलाई संस्थापनइत्तरको नेता भन्ने डा. शेखर कोइराला पनि देउवाको कित्तामा उभिएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको र यसमा विभाजनमा विदेशीको पनि हात रहेको बताएका छन्।

‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौं। राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौं,’ उनले भनेका छन्।

देउवाले कहाँ र कहिले पाएका थिए अमेरिकाको साथ ?

देउवा २०५९ वैशाख २४ मा प्रधानमन्त्री पदमा रहँदा अमेरिकी राष्ट्रपतिको अफिस ‘ओभल’मा थिए। तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई देउवाले नेपालका बारेमा संक्षिप्त ब्रिफिङ गरे।

राष्ट्रपतिसामु नेपालका विषयमा के कुरा कसरी राख्ने भनेर जुलिया चाङ ब्लकले देउवालाई पहिल्यै भनेकी थिइन्। देउवा २०४८ मा गृहमन्त्री हुँदा जुलिया नेपालका लागि अमेरिकाकी राजदूत थिइन्। देउवाको विवाह आरजु राणासँग गराउन उनै जुलियाले भूमिका निर्वाह गरेकी थिइन्।

देउवाले नेपालबारे ब्रिफ गरिरहँदा ओभल अफिसमा अमेरिकाका तत्कालीन विदेशमन्त्री कोलिन पावेल, राष्ट्रिय सुरक्षा सल्लाहकार कोन्डोलिजा राइस पनि थिए। देउवासँग प्रकाशशरण महत, मधुरमण आचार्यसहित राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक रुक्माङ्गत कटवाल पनि थिए।

ब्रिफिङपछि बुसले देउवासँग भने, ‘मिस्टर देउवा डोन्ट टक टु द टेररिस्ट्स, यु डोन्ट नेगोसिएट विथ देम, यु डोन्ट कम्प्रोमाइज।’ 

यो विषय पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्। ओभल अफिसमा भएको घट्नाक्रम व्याख्या गर्दै कटवालले लेखेका छन्, ‘अमेरिकी राष्ट्रपति जर्ज बुसले प्रधानमन्त्री देउवासँग देब्रे हात हल्लाउँदै कड्केर भने- यु जस्ट फाइन्ड देम, फिक्स देम एण्ड फिनिस देम। 

बुसले जसलाई नेपालमा ‘फिनिस’ गर्न भनेका थिए, ती ग्रामिण भेगमा युद्धरत माओवादी थिए, जसको नेतृत्व सैन्य कमाण्डरका रुपमा प्रचण्डले गरिरहेका थिए। २०५२ मा सुरु भएको माओवादी जनयुद्ध २०५८ मा आइपुग्दा उत्कर्षमा थियो।

माओवादी युद्ध (होलेरी काण्ड) कै कारण कांग्रेसका तत्कालीन सभापति समेत रहेका गिरिजाप्रसाद कोइरालाले २०५८ साउन ४ मा राजीनामा दिनुपरेको थियो।

कोइराला सत्ताबाट हटेपछि माओवादी समस्या समाधान गर्ने गरी देउवा सत्तामा आए। २०५८ साउन १८ मा प्रधानमन्त्री बनेपछि देउवाले मुठभेड छाडेर सम्झौतामा आउन माओवादीलाई अपिल गरे। उनले माओवादी सुप्रिमो प्रचण्डलाई साहसिक नेताका रुपमा समेत सम्बोधन गरे। 

देउवाको आह्वानमा माओवादी वार्तामा आयो, तर शान्त भने भएन। जब वार्ता भङ्ग भयो, जनयुद्ध झन चर्केर गयो। २०५८ मंसिर ८ मा माओवादीले दाङ सदरमुकाम घोराहीमा सेनामाथि आक्रमण गर्‍यो। ११ मंसिरदेखि माओवादीविरुद्ध पहिलोपटक सेना परिचालन भयो।

सेना परिचालन भएपछि माओवादी युद्ध झन् फैलियो। सेना, प्रहरी र सशस्त्रलाई गुरिल्ला युद्ध गरिरहेका माओवादीलाई पराजित गर्न अझ बढी हतियार र गोलीगठ्ठा आवश्यक पर्‍यो। साथै अन्तर्राष्ट्रिय सहयोग पनि। यही सहयोग जुटाउने क्रममा देउवा बुसलाई भेट्न अमेरिका पुगेका थिए।

माओवादीलाई ‘फाइन्ड, फिक्स र फिनिस’ गर्न बुसले देउवालाई हतियार, गोलीगठ्ठा र अन्य सहयोग गर्ने बचनसमेत दिए। माओवादीविरुद्ध बुसको शब्द र सहयोगको बचनबाट देउवा उत्साहित थिए।

देउवाको टोली वासिङ्टन डिसीको कार्यक्रमपछि संयुक्त राष्ट्रसंघका महासचिवलाई माओवादीबारे ब्रिफिङ गर्न न्युयोर्क पुग्यो। न्युयोर्कमा देउवाको सम्मानमा डिनर कार्यक्रम राखिएको थियो।

The post गगनलाई विदेशीको इशारामा पार्टी फुटाएको आरोप लगाएका देउवा आफैं चाहिं कसरी आएका थिए शक्तिमा? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category