npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

हवाई सेवामा कोभिडपछिकै ठूलो संकट

नेपालन्युज 2 hours ago

गत १६ फागुनमा अमेरिका र इजरायलले इरानविरुद्ध गरेको आक्रमण र इरानको जवाफी हमलाले नेपालसहित विश्वभरको हवाई सेवा प्रभावित छ। युद्धका कारण शनिबारदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न खाडी राष्ट्रमा हुने उडान रद्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार सोमबार मात्र नेपालबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। नेपालबाट एयर अरेबियाका चार, फ्लाई दुबई र कतार एयरवेजका तीन तीन, हिमालय एयरलाइन्स र कुवेत एयरवेजका दुई दुई, जजिरा र नेपाल एयरलाइन्सका एक  एक वटा उडान रद्द भएका छन्।

टर्किस एयरको भने लामो रुटबाट काठमाडौँ-इस्तानबुलको उडान भइरहेको छ।

मध्यपूर्वमा युद्ध सुरु हुनुअघि (१८ फेब्रुअरी) काठमाडौँबाट टर्कीको इस्तानबुल जाने टर्किस एयरको विमानको नियमित हवाई रुट (माथि), युद्धपछि (१ मार्च) को हवाई रुट। तस्बिर : फ्लाइट अवेर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले शनिबार साँझ नै सूचना जारी गर्दै यी एयरलाइन्सको उडान ढिलाइ, पुनर्तालिका र रद्द हुन सक्ने भन्दै सम्बन्धित एयरलाइन्सका सम्पर्क अधिकारीसँग सम्पर्क गरेर मात्र उडान निश्चित गर्न भनेको थियो।

युद्ध र सन्त्रासले पश्चिम एसियाका कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनका हवाई क्षेत्र बन्द छन्। दुबई र अबुधाबीले मंगलबार आफ्नो विमानस्थल आंशिक खोलेका छन्। दोहा, तेहरान र बेनगुरिन जस्ता ठूला विमानस्थल अझै बन्द छन्। ती विमानस्थलमार्फत दैनिक तीन लाखभन्दा बढी अन्तर्राष्ट्रिय यात्रीले आवतजावत गर्ने गरेका छन्।

अचानक सेवा बन्द हुँदा हवाई यात्राको हब रहेका दुबई, अबुधाबी र दोहामा हजारौँ यात्री अलपत्र छन्।

तनाव बढ्ने अनुमान गर्दै इमिरेट्स, कतार एयरवेज, इत्तिहाद, फ्लाई दुबई, कुवेत एयरवेज र गल्फ एयरले आफ्नो सेवा पूर्ण रूपमा रोकेका छन्। आईटीए एयरवेज, विज्ज एयर, लुप्थान्सा एयरका उडानहरू प्रभावित छन्। अमेरिका, युरोप तथा एसियाका विमान कम्पनीहरूले पनि ३–७ मार्चसम्म उडान स्थगनको सूचना जारी गरेका छन्।

फ्लाइटअवेर डटकमका अनुसार मंगलबार बिहानसम्म मात्र विश्वभर एक हजारभन्दा उडान रद्द भइसकेका छन्।

कोभिड-१९ महामारीपछि उड्डयन क्षेत्रमा देखिएको यो ठूलो संकट हो।

खाडी क्षेत्रको आकाश बन्द हुँदा विश्वका ५० भन्दा बढी विमान कम्पनी अरब सागरभन्दा दक्षिण र ककेसस पहाड क्षेत्रबाट उडान भर्न बाध्य छन्। यसबाट युरोप-एसिया हवाई यात्राको समयावधि दुईदेखि पाँच घन्टाले बढेको छ। ३० देखि ५० प्रतिशतसम्म इन्धन खपत बढिरहेको छ।

जापान टाइम्समा प्रकाशित रिपोर्टका अनुसार युद्धका कारण एसिया-युरोपको टिकटको मूल्य पनि २० देखि ४५ प्रतिशतसम्म वृद्धि भएको छ। अस्ट्रेलिया-युरोपको हवाई भाडा पनि ३० प्रतिशतले बढेको छ। एक सातासम्म अवस्था यस्तै रहे एकदेखि दुई अर्ब अमेरिकी डलर नोक्सान हुने उक्त रिपोर्टमा जनाइएको छ। यात्रामा चार साताभन्दा बढी अवरोध भए हवाई उद्योगले नाफाको १५ देखि २५ प्रतिशतसम्म गुमाउने अनुमान पनि गरिएको छ।

खाडीमा युद्ध सुरु भएसँगै हवाई सेवा अवरुद्ध कम्पनीको सेयर मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। ट्राभल्स क्षेत्रका कम्पनीहरूले विश्व सेयर बजारमा २१ अर्ब अमेरिकी डलर गुमाइसकेका छन्।

त्यस्तै, हवाई कार्गो सेवामा पनि ठूलो असर पुगेको छ। विश्वभरका कार्गोको ३०-४० प्रतिशतसम्म ह्यान्डलिङ दुबई र दोहा एयरपोर्टबाट हुने गरेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category