npl.977 Nepal News Stream

RONB post logo RONB post

एसबीआई बैंक लुटपाट गर्ने पक्राउ, घर धनी नै मुख्य योजनाकार

RONB Post 9 hours ago

काठमाडौं । प्रहरीले सिन्धुलीमा एसबीआई बैंक लुटपाट गर्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका भागवत सिंह थापा, सिन्धुली घ्याङलेखका–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोहीका ४४ वर्षीय छविलाल स्याङ्ताङ, चितवन भरतपुर–२ का २४ वर्षिय शशंका श्रेष्ठ, नुवाकोटका २३ वर्षीय मिलन गिरी, सोहीका विवेक मगर रहेका छन् । एक जना भने नाबालक रहेका छन् ।

मंगलबार साँझ साढे ७ बजेतिर सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको थियो ।

पुस २९ गते साँझ करिब ७ः३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीहरूलाई हातखुट्टा बाँधेर मुखमा टेप टाँस्ने गरी दुई कोठामा बन्धक बनाएको थियो। लुटेराहरूले शाखा प्रमुखलाई प्लास्टिकको नक्कली पेस्तोल देखाई डर देखाएर भल्टको ताल्चा खोल्न लगाएका थिए।

लुटिएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० सय रुपैयाँ बुधबार बिहान नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको थियो । यो त्यो बाहेक पक्राउ परेकाहरुबाट थप ८३ लाख ३५ हजार रुपैयाँसमेत बरामद भएको छ ।

बैंक लुट्ने योजनाकार बैंक भाडामा बसेको घरका धनी छविलाल स्याङतान र चतुरमान बज्यू हुन्। स्याङतानलाई प्रहरीले घ्याङलेख गाउँपालिका-१ जंगल आसपासबाट १ माघमा पक्राउ गरिएको र बज्यू भने बैंक लुटपाट भएकै दिन पक्राउ परेका थिए।

प्रहरीको अनुसार पक्राउ परेकामध्ये चारजना बैंक लुट्ने योजनाअनुसार काठमाडौँबाट दुईवटा मोटरसाइकलमा सिन्धुली पुगेका थिए। बैंक लुट्ने योजना २०८२ असोजमै थियो।

बैंक लुट्न भनी २३ पुसमै चारजना दुईवटा मोटरसाइकल भाडामा लिएर आएका थिए। त्यस दिन परिस्थित अनुकूल नभएपछि काठमाडौँ फर्किएका थिए।

पक्राउ परेका सातै जनामाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

The post एसबीआई बैंक लुटपाट गर्ने पक्राउ, घर धनी नै मुख्य योजनाकार appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category