म्यानचेस्टर सिटीको लगातार चौथो जित
एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक अन्तरलाई पुनः २ अंकमा झारेको छ।
एलान्ड रोडमा भएको खेलमा एन्टोइन सेमेन्योको गोलले सिटीले शनिवार लिड्स युनाइटेडलाई १-० ले पराजित गर्यो।
जन्मथलोमै खेल्न पाउने अवसर एर्लिङ हालान्डले पाएनन्। प्रशिक्षणका क्रममा चोट लागेपछि उनी खेलमा सहभागी हुन सकेनन्।
हालान्डको अनुपस्थितिमा सुरुवातमा प्रशिक्षक पेप ग्वार्डिओलाको टोली केही संघर्षरत देखिए पनि अन्ततः लगातार चौथो लिग जित निकाल्न सफल भयो।
खेलको सुरुआती समयमा डोमिनिक क्याल्भर्ट लेविन र ब्रेन्डन एरनसनले राम्रो अवसर गुमाए। त्यसका बाबजुद दबाबलाई सिटीले बिस्तारै खेलमा नियन्त्रण बनायो।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सिटीले अग्रता बनायो। रायन चेर्की र रायन एइत नुरीको सुन्दर संयोजनपछि सेमेन्योले कार्ल डार्लोलाई छक्याउँदै बल जाली चुमाए।
लिड्सका लागि बराबरी गर्ने राम्रो मौका जाका बिजोलले गुमाए। खेल सकिएपछि मुख्य प्रशिक्षक ड्यानियल फार्केले रेफ्रीसँग विवाद गरेपछि रातो कार्ड देखाइयो। हारका बाबजुद लिड्स १५औँ स्थानमा रहँदै रेलिगेसन क्षेत्रभन्दा ६ अंकले माथि छ। आइतवार आर्सनलले चेल्सीलाई आतिथ्य गर्नेछ।
लिभरपुलको जित
फ्रान्सेली फरवार्ड ह्युगो एकिटिकेले एक गोल गर्नुका साथै २ गोलका लागि पास मिलाइदिएपछि लिभरपुलले प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडलाई ५-२ ले पराजित गरेको छ।
जितसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने आफ्नो लक्ष्यलाई मजबुत बनाएको छ। एन्फिल्डमा भएको खेलमा वेस्ट ह्यामले आक्रामक प्रदर्शन गरे पनि प्रशिक्षक आर्ने स्लटको टोलीलाई रोक्न सकेन।

यो जितसँगै लिभरपुल प्रिमियर लिग तालिकाको चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ।
लिभरपुलले पहिलो हाफमै ३ गोल गर्यो र ती सबै कर्नर प्रहारबाट सम्भव भए। खेलको पाँचौं मिनेटमा डोमिनिक सोबोस्लाईको कर्नरबाट आएको बललाई एकिटिकेले गोल गरे।
२४औं मिनेटमा सोबोस्लाईकै अर्को कर्नरमा भर्जिल भान डाइकले हेड गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा एलेक्सिस म्याक एलिस्टरले शानदार गोल गरे।
एकिटिकेले मोहम्मद सलाहको कर्नर बललाई आफ्नो दिशामा मोडिदिएपछि एलिस्टरले गोल गरेका हुन्।
दोस्रो हाफ सुरु भएको चार मिनेटमै टोमास साउचेकले एल हाजी मलिक डियुफको क्रसलाई स्लाइड गोल फर्काए।
त्यसपछि केही समय लिभरपुल दबाबमा परेको देखिएको थियो। तर ७०औं मिनेटमा एकिटिकेको पास लिएर कोडी गाक्पोले गरेको प्रहार आरोन वान–बिसाकामा लागेर गोलमा परिणत भयो।
पछि भ्यालेन्टिन कास्टेलानोसले जारोड बोवेनको कर्नरमा अनमार्क अवस्थामा हेड गर्दै स्कोर ४–२ बनाए। खेलको अन्त्यतिर क्रिसेन्सियो समरभिलले थप गोलको अवसर सिर्जना गर्न प्रयास गरे पनि सफल हुन सकेनन्।
८२औं मिनेटमा एक्सेल दिसासीले जेरिमी फ्रिम्पोङको क्रस आफ्नै पोस्टमा प्रहार गरेपछि खेल ५- २ को नतिजामा समाप्त भयो।
अन्य खेलमा एभर्टनले न्युक्यासललाई ३-२ ले, बेन्फोर्डले बर्नलीलाई ४-३ ले हरायो। बोर्नमाउथ र सन्डरल्यान्डले १-१ को बराबरी खेलेका छन्।


The post म्यानचेस्टर सिटीको लगातार चौथो जित first appeared on हाम्रो खेलकुद.