PalikaNews
सुत्केरी हुनेभन्दा गर्भपतन सेवा लिने बढी, २० वर्षमुनि गर्भधारण र गर्भपतनमा बढ्दै जोखिम
म्याग्दी – बेनी प्रादेशिक अस्पतालमा सुत्केरीसेवा लिनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गएको देखिएको छ । विशेषगरी २० वर्षभन्दा कम उमेरमै गर्भवती हुने र गर्भपतन सेवा लिने किशोरी तथा युवतीको संख्या उल्लेख्य रूपमा बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अस्पतालमा १७७ सुत्केरी भए भने १९१ जनाले सुरक्षित गर्भपतन सेवा लिए । गर्भपतन सेवा लिनेमा ८ जना र सुत्केरी हुनेमा ३१ जना २० वर्ष मुनिका थिए । साउनदेखि कात्तिकसम्म सुत्केरी र गर्भपतन सेवा लिएका ३७६ मध्ये ३९ जना किशोरी थिए ।
गत वर्ष २०८१÷८२ मा सुत्केरी र गर्भपतन सेवा लिएका १,३८४ मध्ये १९० जना २० वर्षभन्दा कम उमेरका थिए । त्यसमध्ये १६१ जना सुत्केरी भए भने २९ जनाले गर्भपतन सेवा लिएका थिए। आर्थिक वर्ष २०८०÷८१ मा २० वर्ष मुनिका १६५ जना सुत्केरी भए र ३३ जनाले गर्भपतन गराएका थिए ।
जिल्लामा प्रजननयोग्य उमेर समूहका २१ हजारभन्दा बढी महिला भए पनि ४७ प्रतिशत दम्पत्ती मात्र आधुनिक परिवार नियोजन विधिको प्रयोग गर्छन्। बाँकी ५३ प्रतिशत अझै आधुनिक साधनको पहुँचबाहिर छन् ।
अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानका अनुसार सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुनु सकारात्मक भए पनि २० वर्षभन्दा कम उमेरमा गर्भधारण र पटक–पटक गर्भपतन हुनु गम्भीर स्वास्थ्य जोखिम हो। बालविवाह, यौन तथा प्रजनन स्वास्थ्यबारे अपर्याप्त जानकारी र परिवार नियोजनको कम प्रयोग नै प्रमुख कारण रहेको उनले बताए ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले बालविवाह रोक्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार सजग हुनुपर्ने बताए। विद्यालय र स्वास्थ्य संस्थाले किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा थप जागरूकता दिनुपर्ने उनको भनाइ छ ।
म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मीले मेलाजात्रामा हुने अव्यवस्थित सम्बन्धबालविवाह र अनिच्छित गर्भधारणका कारण बनेको बताइन्। नेपालमा अहिले पनि करिब ५३ प्रतिशत गर्भधारण अनिच्छित हुने अध्ययनले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले ‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ नारासहित सूचिकृत स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन आग्रह गर्दै आएको छ। देशभर २,८२७ सूचिकृत संस्थाबाट गर्भपतन सेवा निःशुल्क उपलब्ध छ । तर स्वास्थ्य सेवा विभागका अनुसार करीब ५२ प्रतिशत गर्भपतन अझै असुरक्षित रूपमा नै भइरहेको छ।
अनाधिकृत क्लिनिक, औषधि पसलबाट मनपरी औषधि सेवन गर्ने, सेवाबारे जानकारीको कमी र महिलाको हिचकिचाहटले असुरक्षित गर्भपतनको जोखिम बढिरहेको विशेषज्ञहरूको भनाइ छ ।
महिला स्वास्थ्य तथा सुरक्षित मातृत्व प्रवद्र्धनका लागि परिवार योजना, सुरक्षित गर्भपतनबारे जानकारी विस्तार, किशोरी शिक्षा तथा बालविवाह नियन्त्रण अत्यावश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।