कर्णालीमाथि काठमाडौंको सानदार जित, प्लेअफ सम्भावना बलियो
काठमाडौं । काठमाडौं गोर्खाजले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको एकमात्र खेलमा काठमाडौंले कर्णाली याक्समाथि ५ विकेटको सानदार जित दर्ता गरेको हो । यो हारसँगै कर्णालीको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ ।
कर्णालीले दिएको १४९ रनको लक्ष्य काठमाडौंले १७.६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । काठमाडौंको जितमा मध्यक्रमका ब्याट्सम्यान गेरहार्ड इरासमस र विकेटकिपर जन सिम्पसनको साझेदारी निर्णायक रह्यो। गेरहार्ड इरासमसले ३३ बलमा ४३ रनको महत्वपूर्ण अविजित पारी खेले, जसमा २ चौका र २ छक्का समावेश थियो।
सिम्पसनले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा ४ चौका र २ छक्काको मद्दतले ४१ रन बनाए। ओपनर बेन चार्ल्सवर्थले पनि २१ बलमा ३४ रन जोडेर टोलीलाई राम्रो सुरुवात दिलाएका थिए।
अन्तिममा, भिम सार्कीले २ बलमा ६ रन बनाएर खेलको सुखद अन्त्य गरे।
कर्णालीका बलरमध्ये नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। पवन सर्राफले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन जोडेको थियाे । कर्णालीका गुलसन झाले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रन बनाए। उनले मात्र २२ बलको सामना गर्दै ६ चौका र ३ छक्का को मद्दतमा ४ रनको तेज पारी खेले। तर एक रनबाट अर्धशतकमा चुके ।
गुलसन बाहेक पवन सर्राफले २९ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए भने ओपनर मार्क वाट ले पनि २७ बलमा ३० रन को योगदान दिए। कर्णाली याक्सको सुरुवात भने निकै निराशाजनक रह्यो। टिमको स्कोर १ रन हुँदा नै टोलीले आफ्ना दुई महत्वपूर्ण ओपनर प्रियङ्क पन्चाल र विलियम बोसिस्टोलाई गुमाइसकेको थियो। खराब सुरुवातपछि मार्क वाट र पवन सर्राफले इनिङ्स सम्हाल्ने प्रयास गरे, तर मध्यक्रममा विकेट गुमाउनुले टिमको रन गतिमा असर पुर्यायो।
यता काठमाडौंका लागि विदेशी स्पिनर राशिद खान २ महत्त्वपूर्ण विकेट लिँदा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवकाे नाममा समान एक विकेट रह्याे ।