PalikaNews
पर्वतमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
पर्वत – फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ३०० जना स्थानीयवासी लाभान्वित भएका छन् । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा विभिन्न रोगको विशेषज्ञ परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।
शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाक–कान–घाँटी, बाल स्वास्थ्य, मानसिक स्वास्थ्यलगायतका रोगको परीक्षण गरिएको आयोजकले जनाएको छ । साथै रक्तचाप र मधुमेह परीक्षण, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम (ईसीजी), अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगसम्बन्धी सेवा पनि उपलब्ध गराइएको थियो । आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी, डा. अनिल भट्टराई, डा. भारती शर्मा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा. सुजना रेग्मी, बालरोग विशेषज्ञ डा. प्रकाश गौतमलगायत २५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजक समितिले जनाएको छ। स्थानीयवासीले घरआँगनमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
यसैबीच, शिविरकै अवसरमा नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो। रक्तदान कार्यक्रममा ५० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्त अभाव न्यूनीकरण गर्न रक्तदान कार्यक्रम सहयोगी बनेको रेडक्रसले जनाएको छ ।