शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते
जनकपुर। धनुषामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा मधेसका विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार मिथिला नगरपालिका ९‚ बडहरीस्थित पूर्व-पश्चिम राजमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार विस्फोटमा मिथिला ८‚ जमुनिवासका टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता बमले बताए।
प्रवक्ता बमले शंकास्पद वस्तु के रहेको त्यो अहिले नखुलेको बताए।
यस्तै धनुषा र महोत्तरीको सीमामा पर्ने रातो नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेको हो। महोत्तरी प्रहरीका अनुसार शंकास्पद वस्तु फेला परेको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गरेको छ। मधेस प्रदेशको भारतसँग जोडिएका सीमा बन्द गरिएका छन्। सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।