ओली तेस्रो पटक पनि अध्यक्ष बन्ने गरी महाधिवेशन प्रतिनिधि चयन, पोखरेल पक्ष कमजोर
काठमाडौं। नेकपा (एमाले)मा ११औं महाधिवेशनबाट पनि केपी शर्मा ओली नै अध्यक्ष बन्न सहज हुनेगरी महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीलाई सक्रिय राजनीतिबाट बिदा गर्नुपर्ने आवाज उठिरहँदा एमालेमा उनकै पक्ष भारी हुने गरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका महाधिवेशन प्रतिनिधिका उम्मेदवारले सर्वसम्मत नभएको ठाउँमा चुनाव सामना गरेका थिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिनुपर्ने तथा ओलीले नेतृत्व छाडेर अभिभावक बन्नुपर्ने मत राख्ने पोखरेल समूहका नेताहरु अधिकांश ठाउँमा पराजित भएका छन्।
पोखरेल-भण्डारी समूहको प्रभाव महाधिवेशन प्रतिनिधि चयनमा कम देखिएसँगै ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्न सहज हुने देखिएको हो। महाधिवेशन प्रतिनिधिले दुई सातापछि पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्य चयनका लागि मतदान गर्नेछन्।
ओली समूहले पोखरेलको पक्षमा लाग्ने कार्यकर्तालाई नछान्न सामाजिक सञ्जालमार्फत दबाब दिएको थियो। ओलीकै निरन्तरताका लागि उनको समूहका नेताहरुले पोस्टर नै बनाएर प्रचार गरेका थिए।
केही ठाउँमा महाधिवेशन प्रतिनिधि चयनमा विवाद भएको छ। कतिपय ठाउँमा ओली र पोखरेल समूहबीच टकरावको अवस्था आएपछि प्रतिनिधि चयन नै स्थगित गरिएको छ।
एमालेले शनिबार एकैदिन प्रतिनिधि चयन गर्ने तथा मंसिर १५ गतेसम्म प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय गरेको थियो।
एमालेले ११औं महाधिवेशनका लागि ६ लाख ६७ हजार ६३० पार्टी सदस्यमध्येबाट एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १२ सय पार्टी सदस्य बराबर २ जना खुला प्रतिनिधि चयन गर्ने मापदण्ड बनाएको थियो। एक जना महिला र ४० वर्षमुनिका एक जना युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ४ प्रतिनिधि चयन हुने विधिअनुसार एमालेले प्रतिनिधि छानिरहेको हो।
त्यसबाहेक ८०० सदस्य थपिंदै जाँदा थप १ प्रतिनिधि छानिएका छन्। २३ जनसंगठनमध्ये प्रत्येकबाट ५ जनाका दरले प्रतिनिधि चयन गरिएका छन्।
शनिबार विवाद भएका ठाउँमा आइतबार महाधिवेशन प्रतिनिधि चयनको काम भइरहेको छ। एमालेले देशभरबाट २ हजार २ सय प्रतिनिधि चयन गर्नेछ।
पार्टीको महत्वपूर्ण पदमा रहेका र पोखरेलको पक्षमा लागेका नेताहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। मकवानपुर अध्यक्ष श्रीधर पोखरेले पराजित भएका छन्। उनी एमाले विभाजनका बेलामा माधवकुमार नेपाल समूहमा थिए भने पछिल्लो समय पोखरेल पक्षमा लागेका थिए।
बुद्धिजिवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, उपाध्यक्ष राधा अधिकारी र महासचिव दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। थपलियाले जेनजी आन्दोलनलगत्तै ओलीको राजीनामा मागेका थिए।
ओली समूह इतरका जनप्रतिनिधि समेत महाधिवेशनका लागि भएको पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका छन्। अर्घाखाँचीमा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन्। पोखरेलसँग निकट मानिने प्रेमनारायण गैरे, श्रीकृष्ण भुसाल र महिलातर्फ शीतगंगा नगरपालिका उपप्रमुख गीता भाट पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
पोखरेल समूहका कार्यकर्ता थोरै ठाउँमा मात्रै विजयी भएका छन्। मोरङ प्रतिनिधि सभा निर्वाचन-६ बाट पोखरेल समूहका नेता विनोद ढकालको समूह नै निर्वाचित भएको छ।
The post ओली तेस्रो पटक पनि अध्यक्ष बन्ने गरी महाधिवेशन प्रतिनिधि चयन, पोखरेल पक्ष कमजोर appeared first on BIZMANDU.