npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेस विवादबारे चाँडै निर्णय गर्नुपर्ने दबाबमा निर्वाचन आयोग, सुरु गर्‍यो आन्तरिक परामर्श

Prakash Bhandari 12 hours ago

काठमाडौं। निर्वाचन आयोग नेपाली कांग्रेसको आधिकारिकता विवादबारे चाँडै निर्णयमा  पुग्नुपर्ने दबाबमा परेको छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रभाव पर्ने भन्दै आयोग निर्णयका लागि परामर्शमा जुटिसकेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा पक्षले कार्यसमिति अद्यावधिक गर्न आयोगमा बिहीबार औपचारिक रुपमा जानकारी गराएसँगै आयोग आन्तरिक परामर्शमा जुटेको हो। माघ ६ गतेका लागि तय भएको प्रत्यक्षतर्फको मनोययनलाई प्रभावित नपार्ने गरी आधिकारिकता विवाद अन्त्यको तयारीमा आयोग छ।

चुनावी कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ताको समय छ। राजनीतिक दलहरुले अब ५ दिनभित्र प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने छ। यस्तो अवस्थामा कांग्रेसको विवाद उत्पन्न भएपछि आयोग दबाबमा परेको हो।

गगन थापालाई सभापति कायम गर्दै नयाँ कार्यसमितिको विवरण अद्यावधिकका लागि विशेष महाधिवेशन पक्षधरले आयोगमा कागजात पेस गरेसँगै कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु सगुन सम्शेर जबरा र  जानकी तुलाधरको टोली विवाद किनारा लगाउन परामर्शमा जुटेको हो। ‘आज विशेष महाधिवेशन पक्षले निवेदन दिएपछि आयुक्तहरुले छलफल गर्नुभएको थियो। विवादबारे चाँडै निर्णय गर्नुपर्ने अवस्थामा निर्वाचन आयोग छ। विवादको औपचारिक जानकारी आउनु अघिदेखिनै अनौपचारिक छलफलमा हुनुहुन्थ्यो,’ स्रोतले भन्यो। 

थापा पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विशेष महाधिवेशनमार्फत चयन भएको कार्यसमिति र नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको हो। ऐन अनुसार महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र आयोगलाई जानकारी गराइसक्नुपर्ने व्यवस्था छ। आयोगले पनि दलको विधान र ऐन अनुसार महाधिवेशन भएको अवस्थामा नाम, झण्डा, विधान, चुनाव चिन्हलागयतका विवरण  अद्यावधिक गर्नुपर्ने तथा पदाधिकारीबारे दल दर्ता किताबमा हेरफेर गर्नुपर्ने कानुनी व्यवस्था छ।

थापाले माघ ६ गते नै प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय भएकाले विवादबारे निर्णय गरिदिन आयोगका कार्यवाहक प्रमुख भण्डारीलाई आग्रह गरेका थिए। ‘माघ ६ गते उम्मेदवार चयनका लागि संसदीय समिति निर्माण गर्ने काम सम्पन्न गरिसकेका छौं। अद्यावधिक गर्ने काम चाँडोभन्दा चाँडो भएपछि हामी अरु काम त्यही गतिमा अगाडि बढाउँछौं,’ उनले भनेका थिए।

कांग्रेसका दुबै पक्ष आयोगमा पुग्नुअघि नै कांग्रेसको विधान, राजनीतिक दल सम्बन्धी ऐन र यसअघिका विवादमाथि आयोगले गरेका निर्णयबारे अध्ययन थालिसकेको थियो। अनौपचारिक रुपमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग पनि आयोगले परामर्श लिइसकेको छ। 

‘औपचारिक रुपमा हामीले विवरण प्राप्त गरेका छौं। के कसरी निर्णयमा पुग्ने सबै पक्षको अध्ययन भइरहेको छ। ठूलो दलको दबाबभन्दा पनि एउटा राजनीतिक दलको हिसाबले हेरिरहेका छौं। निर्वाचनसँग सम्बन्धित गतिविधि गरिरहेका बेला यो विवादको विषय आएपछि अलि अप्ठेरो त भइहाल्छ,’ राजनीति दलसम्बन्धी शाखाका प्रमुख तथा सहसचिव यज्ञप्रसाद भट्टराईले भने।

अब निर्णयका लागि आयोग गृहकार्यमा जुटने छ । त्यसका लागि शुक्रबारदेखि नै औपचारिक रुपमै प्रक्रिया थाल्ने पक्षमा भण्डारी छन्। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिकका लागि निर्वाचन आयोगले संविधान, ऐन र नियम अनुसार महाधिवेशन भए नभएको अध्ययनपछि निर्णय गर्नसक्ने व्यवस्था छ। तर, विवादलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगले निर्णय गर्नुपर्ने अवस्थामा प्रक्रिया लामो हुनेछ।

दफा ५१ अनुसार अद्यावधिकको माग थापा पक्षले गरेकाले दफा ४४ मा तत्काल आयोग प्रवेश गर्ने छैन।

The post कांग्रेस विवादबारे चाँडै निर्णय गर्नुपर्ने दबाबमा निर्वाचन आयोग, सुरु गर्‍यो आन्तरिक परामर्श appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category