दोहोरो आइजीनको विकल्प खोज्दै सेबोन, संस्थापक र साधारण सेयर ट्र्याकिङका लागि छुट्टै व्यवस्था
काठमाडौं। दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पठाएको प्रस्ताव सात महिनादेखि होल्ड गरेको नेपाल धितोपत्र बोर्ड(सेबोन) विकल्प खोज्नतिर लागेको छ।
सीडीएससीले पठाएको धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा ७ महिनादेखि होल्ड गरेको सेबोनले दोहोरो आइजीनको विकल्पमा छलफल थालेको छ।
कम्पनीको साधारण र संस्थापक सेयरलाई फरक-फरक आइजीन दिने सीडीएससीको प्रस्तावको विकल्पमाथि सेबोनले सञ्चालक समितिमै छलफल गरेको हो।
सेबोन स्रोतका अनुसार, कम्पनीको संस्थापक र साधारण सेयर ट्र्याकिङका लागि छुट्टै व्यवस्था गरेर एउटै आइजीनको व्यवस्थासहित निर्देशिका स्वीकृति गर्न सकिने विकल्पमा छलफल भएको छ।
‘केही कम्पनीको संस्थापक सेयरलाई लकइन अवधिमै साधारण सेयरमा परिणत गरेर कारोबार भएको सीडीएससीमै देखिएको छ। यो सीडीएससी र नियामक निकायबाट भएको कमजोरी हो। यसलाई अब सम्बोधन गर्नका लागि केही न केही चाहिन्छ। तर, दुई वटा आइजीन समाधान होइन,’ सेबोन सञ्चालक समितिमा भएको छलफल उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले कम्पनीको सेयरलाई आन्तरिक ट्र्याकिङका लागि छुट्टै संकेत वा अरु व्यवस्था गर्न सकिने कुरा बोर्ड सदस्यबाट आएको छ।’
सीडीएससीले गत साउन दोस्रो साता कम्पनीको संस्थापक र साधारण सेयरलाई फरक-फरक आइजीन दिने प्रस्तावसहित धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृतिका लागि सेबोनमा पठाएको थियो।
सीडीएससीले पठाएको निर्देशिकाको मस्यौदा सेबोनको सञ्चालक समितिमा विचाराधीन छ। कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई संयोजक रहेको कानुन समितिले निर्देशिकाको मस्यौदा अध्ययन गरेर सञ्चालक समितिमा पेस गरेकामा अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्वीकृत गर्न रुची देखाएका छैनन्।
सेबोनले गत माघ दोस्रो साता निर्देशिकाको मस्यौदाबारे सीडीएससीसँग छलफल गरेको थियो। सीडीएससीकी प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकले दोहोरो आइजीनको प्रस्तावबारे सेबोनका सञ्चालकहरुसमक्ष प्रस्तुतिकरण गरेकी थिइन्।
उनले केही कम्पनीको संस्थापक सेयर लकइन अवधिमै साधारण सेयरको मूल्यमा कारोबार गरेको पाइएको भन्दै त्यसलाई रोक्न दोहोरो आइजीन अनिवार्य रहेको बताएकी थिइन्।
तर सेबोनले अहिलेसम्म मस्यौदा स्वीकृत गरेको छैन। धितोपत्र अभौतिकीकरण निर्देशिकाको मस्यौदा होल्ड गरेपछि सीडीएससीले सार्वजनिक रुपमै सेबोनको नेतृत्वमाथि प्रश्न उठाएको छ।
सीडीएससीकी सीइओ पन्दाकले एक साताअघि सिटी होटल र कालिञ्चोक होटलको संस्थापक सेयर साधारण सरह कारोबार गरिएको पाइएको भन्दै त्यसलाई रोक्न दोहोरो आइजीन लागू गर्न खोज्दा सेबोनले रोकेर राखेकामा विरोध जनाएकी थिइन्।
सेबोन अध्यक्ष सन्तोषनारायणले आफ्नै सहमतिमा तयार पार्न लगाएको निर्देशिकाको मस्यौदा स्वीकृत गर्नुको साटो होल्ड गरेर राखेको भन्दै पन्दाक फायर भएकी छन्।
‘लकइन अवधिमा संस्थापक सेयरलाई साधारण सेयरमा प्रणालीभित्र प्रवेश गराएर बिक्री गर्न खोजिएको जुन गम्भीर वित्तीय अपराध छ, यसलाई रोक्नका लागि हामीले दुई वटा आइजीन प्रस्ताव गरेका हौं,’ पन्दाकले भनिन्, ‘तर, हामीले साउनमै पेस गरेको मस्यौदा नियामकबाट अहिलेसम्म किन स्वीकृत भएन? हामीलाई त्यसको कुनै जानकारी छैन।’
अहिले कम्पनीको संस्थापक र साधारण सेयरलाई एउटै आइजीन दिने गरिएको छ। संस्थापक सेयर लकइन सकिएपछि दोस्रो बजारमा साधारण मूल्यमा किनबेच हुने गरेको छ।
एउटै आइजीनमा साधारण र संस्थापक सेयर अभौतिकीकरण गरिने र लकइन अवधिसम्म संस्थापक सेयरलाई लक गरेर राखिने गरेकामा इमर्जिङ नेपालको सेयरमा दिइएको फरक आइजीनलाई सीडीएससीले एकीकृत गर्न नमानेपछि दोहोरो आइजीनको विवाद सुरु भएको हो।
आइपीओ निष्कासनपछि कम्पनीको संस्थापक र साधारण सेयरलाई यसअघि एउटै आइजीन दिने गरेको सीडीएससीले अहिले दोहोरो आइजीन प्रस्ताव गरेको छ।
लकइन अवधि सकिएपछि आइजीन मर्ज गरेर संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न सकिने व्यवस्था निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएको छ।
आइपीओ निष्कासनपछि कम्पनीको संस्थापक सेयरमा ३ वर्षको लकइन लाग्छ। यो बीचमा संस्थापकहरुले सेयर किनबेच गर्न पाउँदैनन्। बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको हकमा ३ वर्षे लकइन अवधि सकिएपछि संस्थापक सेयर साधारणमा परिणत भएर बजार मूल्यमा कारोबार हुने गरेको छ।
सीडीएससीको प्रस्तावमा संस्थापक सेयरधनीहरु सहमत छैनन्। संस्थापक सेयरधनीले दोहोरो आइजीनको व्यवस्थाले सेयर बजार नै कोल्याप्स हुने बताउँदै आएका छन्।
The post दोहोरो आइजीनको विकल्प खोज्दै सेबोन, संस्थापक र साधारण सेयर ट्र्याकिङका लागि छुट्टै व्यवस्था appeared first on BIZMANDU.