npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

नेपाल न्युज 3 hours ago

सिरहा। सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ।

नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार यहाँका १२ वटा स्वास्थ्य केन्द्रलाई बिपी सेट, स्टेथिस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन्।

उनले नगरपालिकाले २४ वटै वडाका स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यकर्मीलाई घरघरमै पठाउने व्यवस्था मिलाइएको बताए । सुत्केरी भएको ४२ दिनभित्र स्वास्थ्यकर्मीहरूले २४ घण्टा, तीन दिन, सात दिन र ४२ दिनमा गरी चार पटक घरमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको छ ।

विशेष गरी यातायातको पहुँच नभएका र ग्रामीण भेगका महिलालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए। उनले भने, “कुनै पनि आमा वा शिशुले उपचार र परामर्शको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो । विशेष गरी ग्रामीण भेगका आर्थिक रूपमा विपन्न र यातायातको पहुँच नभएका महिलाहरूलाई लक्षित गरेर कार्यक्रम सुरु गरेका हौँ ।”

नगरपालिकाले विगत ४ वर्षदेखि हरेक महिनाको २२ गते २४ वटै वडामा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज’ समेत वितरण गर्दै आएको छ ।

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार स्वास्थ्यकर्मीहरूले केवल स्वास्थ्य जाँच मात्र नगरी सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानी र खानपानबारे पनि परामर्श दिनेछन् ।

Read more news from नेपाल न्युज

Explore by Source or Category