बालेनसँगको तस्बिर सार्वजनिक गर्दै स्वर्णिमको सन्देश – मधेशबाटै राष्ट्र निर्माणको अभियान सुरु हुन्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले देशलाई एकताबद्ध गर्दै समृद्धितर्फ लैजाने महाअभियान मधेशबाट सुरु गरिने घोषणा गरेका छन्।
बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै वाग्लेले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले माघ ५ गते पार्टी सभापति रवि लामिछानेसहित जनकपुर पुग्ने जानकारी दिँदै मधेशलाई अभियानको सुरुवाती केन्द्र बनाइने उल्लेख गरेका छन्।
उनको सन्देशमा भनिएको छ, “देश जोड्ने र बनाउने अभियानको थालनी मधेशबाट हुन्छ, र यसको राजनीतिक निकास २१ फागुनमा हुने निर्वाचनमार्फत आउनेछ।”
वाग्लेले आर्थिक सुधार, आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व र सार्वजनिक खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार विकास तथा काठमाडौं महानगरले अपनाएको ‘डेलिभरी मोडल’ जस्ता विषयमा चरणबद्ध छलफल भइरहेको बताएका छन्। उनले यी छलफलहरू रास्वपा नेता तथा प्रस्तावित प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन्द्र शाहसँग केन्द्रित रहेको पनि संकेत गरेका छन्।