Sutra News
संस्थापनले गगन, विश्व र फरमुल्लाहलाई मात्र किन गर्यो कारबाही ?
काठमाडौं । नेपाली कांग्रेसले दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। तर, विशेष महाधिवेशनमा सक्रिय अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि भने ‘फर्कने अन्तिम ढोका’ खुला राखिएको छ।
केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तीन शीर्ष नेतामाथि विधान अनुसार कारबाही भएको सुनाए। उनका अनुसार कांग्रेस विधान २०१७ (संशोधनसहित) का विभिन्न धाराहरू प्रयोग गर्दै आजकै मितिबाट लागू हुने गरी निष्कासनको निर्णय गरिएको हो।
‘नेपाली कांग्रेसको विधानअनुसार गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ,’ उनले भने।
तर कांग्रेसले विशेष महाधिवेशनमा लागेका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई भने पार्टीमा फर्कन औपचारिक अपिल गरिएको छ। जबकि देउवा पक्षका ३० बढी केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी छन्।
‘आकर्षणमा, लहैलहैमा लागेर पार्टी हितविपरीत गतिविधिमा संलग्न भएका साथीहरूलाई अनुशासन, जिम्मेवारी र राष्ट्रिय राजनीतिको विषम अवस्थालाई ध्यानमा राख्दै पार्टीमा फर्कन हार्दिक अपिल गरिएको छ,’ विश्वकर्माले भने।
कांग्रेसले निष्कासनलाई अन्तिम बन्द ढोका भने बनाएको छैन। कारबाहीमा परेका नेताहरूले स्पष्टीकरण, पुनरावेदन वा कारणसहित निवेदन दिए केन्द्रीय कार्यसमितिले पुनः सुनुवाइ गर्न सक्ने पनि निर्णयमा उल्लेख गरिएको छ।