Sutra News
गगन कांग्रेसमा गएका देउवाका सारथिहरू (नाम)
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीको शक्ति सन्तुलन नै उल्ट्याउँदै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गर्यो।
विशेष महाधिवेशनको सबैभन्दा निर्णायक मोड भने शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहका सात जना प्रभावशाली नेताहरूले अन्तिम क्षणमा कित्ता परिवर्तन गर्दै गगन थापा समूहमा समाहित हुनु रह्यो।
महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत हुँदा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध भए। देउवा समूह छाडेर गगन समूहमा सामेल भएकी पुष्पा भुसालको उपसभापतिमा चयनलाई कांग्रेसभित्र ‘राजनीतिक संकेतात्मक जित’का रूपमा हेरिएको छ।
समावेशी संरचनातर्फको सहमहामन्त्री चयनमा समेत देउवा समूह छाडेर आएका नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ। महिला कोटाबाट डिला संग्रौला पन्त, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा र खस आर्य कोटाबाट उदयशमशेर राणा सहमहामन्त्री भए। यी तीनै जना देउवा समूहबाट अलग भई नयाँ नेतृत्वको पक्षमा उभिए।
त्यसैगरी मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र पिछडिएको क्षेत्रबाट कर्ण बहादुर बुढा सहमहामन्त्रीमा चयन भए। दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्री बनेका छन्। यीमध्ये मुक्ता कुमारी यादव र प्रकाश रसाइली बाहेक अन्य पाँच जना सहमहामन्त्रीहरू पनि देउवा समूह त्यागेर नयाँ समीकरणमा आएका हुन्।
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनपछि देउवाको सभापतित्वमा गठित केन्द्रीय कार्यसमितिका ३ पदाधिकारीसहित केन्द्रीय समितिमा रहेका ३२ जना गगन नेतृत्वमा गठित नयाँ कार्यसमितिमा गए। १३५ सदस्यीय केन्द्रीय समितिमा देउवा नेतृत्वको केन्द्रीय समितिका ३२ जना छन्।