npl.977 Nepal News Stream

Sutra News logo Sutra News

सवारीसाधन व्यवस्थापनमा निर्वाचन प्रहरी, लामो समय जाम हुँदा यात्रु हैरानीमा

सुत्र न्युज 6 days ago

काठमाडौं । आसन्न निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी काठमाडौंका सडकमा सवारीसाधन व्यवस्थापनमा खटिएका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न चोक र ट्राफिक जाम हुने क्षेत्रमा उनीहरुलाई खटाइएको छ । तर, ट्राफिक व्यवस्थापनको अनुभव अभावमा उनीहरुलाई सवारीसाधन व्यवस्थापन गर्न कठिनाइ भएको देखिन्छ । जसले गर्दा कार्यालय समयमा सडकमा सवारीसाधनको जाम हुँदा यात्रु मर्कामा परेका छन् ।

सवारीसाधन व्यवस्थापनसम्बन्धी ज्ञान र अनुभव अभावका कारण उनीहरुले ट्राफिक व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

चुनावी प्रयोजनका लागि भर्ना गरिएका उनीहरु अहिले हातमा लौरो लिएर सडकमा सवारीसाधन व्यवस्थापनमा खटिएका छन् । तालिम र प्रशिक्षण प्राप्त ट्राफिक प्रहरीलाई उपत्यकाको सवारी जाम खुलाउन हम्मेहम्मे पर्ने अवस्था रहेका बेला निर्वाचन प्रहरीले कसरी जाम हटाउँछन् ? सडक उपभोक्ताहरुले बताउन थालेका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन आउन एक हप्ता बाँकी रहेका बेला सुरक्षाकर्मीहरु निर्वाचनकेन्द्रित सुरक्षा व्यवस्थामा लाग्दा काठमाडौंका सडकमा भने ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरीलाई खटाइएको हो ।

निर्वाचन प्रहरीको निर्देशन चालकहरुले समेत बेवास्ता गरेको देखिन्छ भने स्वयं निर्वाचन प्रहरीलाई समेत सवारीसाधन व्यवस्थापनसम्बन्धी जानकारी अभाव देखिन्छ । जसकारण केही दिनयता कार्यालय समयमा विभिन्न चोक तथा मुख्य मार्गहरुमा ट्राफिक जाम हुँदा कामकाजी व्यक्तिहरु मर्कामा परेका छन् ।

Read more news from Sutra News

Explore by Source or Category