npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

भेनेजुएलाकी विपक्षी नेतृले ट्रम्पलाई किन दिइन् नोबेल शान्ति पुरस्कार ?

भवानी प्रसाद पाण्डे 10 hours ago

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले करिब दुई हप्ताअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न आदेश दिएको घटनापछि ह्वाइट हाउसमा यो भेट भएको हो।

मचादोले गत वर्ष राष्ट्रपति मदुरोको “निर्दयी र अधिनायकवादी शासन” विरुद्धको संघर्षका लागि सुनको नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन्। उनले ट्रम्पलाई पदक दिनुको मुख्य कारण “भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको अद्वितीय प्रतिबद्धताको सम्मान” भएको बताएकी छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्: “मचादोले मैले गरेको कामको कदरस्वरूप आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गरिन्। यो आपसी सम्मानको अत्यन्तै सुन्दर संकेत हो।”

ह्वाइट हाउसले सार्वजनिक गरेको तस्बिरमा ट्रम्प सुनौलो फ्रेममा सजाइएको उक्त पदकसँग देखिन्छन्। पदकको तल लेखिएको छस्वतन्त्र भेनेजुएलाको सुनिश्चितताका लागि राष्ट्रपति ट्रम्पले लिएको निर्णायक कदमको सम्मानस्वरूप भेनेजुएलाली जनताका तर्फबाट कृतज्ञताको व्यक्तिगत प्रतीक।”

नोबेल आयोजकहरूले यसअघि नै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत स्पष्ट पारेका थिए कि पदकको भौतिक स्वामित्व (मालिक) परिवर्तन हुन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि हस्तान्तरण हुन सक्दैन।

सन् २०२४ को निर्वाचनमा माचादोको आन्दोलनले मदुरोलाई पराजित गरेको विश्वास गरिन्छ। तर, ३ जनवरीमा अमेरिकी सेनाले मदुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले अप्रत्याशित रूपमा माचादोलाई राजनीतिक रूपमा पन्छाएका थिए।

मचादोका समर्थकहरूले उनलाई भेनेजुएलाको नयाँ नेतृका रूपमा ट्रम्पले मान्यता दिने आशा गरेका थिए। तर, ट्रम्पले कार्यवाहक राष्ट्रपतिका रूपमा मदुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई समर्थन गरे।

विश्लेषकहरूका अनुसार, यो प्रतीकात्मक कदम मदुरो जेल परेपछि कमजोर बन्दै गएको आफ्नो आन्दोलनलाई पुनर्जीवित गर्ने र ट्रम्पको समर्थन पुनः प्राप्त गर्ने माचादोको प्रयास हो।

मचादोले आफ्नो यस कदमलाई सन् १८२५ को एक ऐतिहासिक घटनासँग तुलना गरेकी छन्। त्यतिबेला मार्किस दे ला फाएटले जर्ज वासिङ्टनको तस्बिर अंकित सुनको पदक दक्षिण अमेरिकी स्वतन्त्रता सेनानी सिमोन बोलिभारलाई पठाएका थिए।

Read more news from KHASOKHAS

Explore by Source or Category