PalikaNews
कमला नदी पुलको स्थलगत अनुगमनमा पुगे मन्त्री घिसिङ
सिरहा, धनुषा —ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् । निर्माण प्रक्रिया ढिलाइ भएको, पुल नबन्दा नागरिकले लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको लगायतका गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि अनुगमन गरेका हुन् र
यो पुल २०६८ साल जेठमा २४ करोड ९१ लाख रुपियाँ (भ्याटसहित) लागतमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको थियो । सुरुको सम्झौता अनुसार पुल २०७१ साल मंसिरमा सम्पन्न हुने तय गरिएको थियो । तर निर्माणमा ढिलाइ हुँदा आठौं पटक ठेक्का म्याद थप गरिएको छ । हाल निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थपका लागि प्रस्ताव पेश गरेका छन् र प्रक्रिया जारी छ ।
मन्त्री घिसिङले अनुगमनको क्रममा भने, “यो पुल समग्र मधेश क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण छ । निर्माण कार्य तिब्र गतिमा अघि बढाइनेछ । विगतमा भएको अनियमिततामा दोषी देखिएकालाई कानुन बमोजिम कारवाही गरिनेछ ।”
पुल निर्माणको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ। १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर छ । ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले नै पुल डिजाइन गरी निर्माण गर्ने मोडल अपनाइएको हो । पुल निर्माणसँगै नदीको दुवै किनारमा १,३०० मिटर नदी नियन्त्रण र २०० मिटर पहुँच सडक निर्माण गर्नु पर्नेछ ।
१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलका दुई पायल भासिँदा चारवटा स्लावमा क्षति पुगेको थियो। क्षति पुगेका स्लावमध्ये दुईवटा हटाइएका छन् भने बाँकी दुईवटा स्लाव हटाउने काम बाँकी छ। विज्ञबाट माटो परीक्षण गरी परिमार्जित डिजाइन स्वीकृत गरिएको छ । सिरहापटि दुई स्लाव हटाउने, एउटाको पायर क्याप र अर्कोको पायरमा दुई मिटर स्टिम ढलान गर्ने काम सम्पन्न गरी बाँकी दुई स्पान मजबुत बनाउने काम भइरहेको छ ।
अनुगमन टोलीमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतका अधिकारीहरू सहभागी थिए ।
स्वीकृत परिमार्जित डिजाइन अनुसार पुल आगामी असारभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । अनुगमनको क्रममा मन्त्री घिसिङ धनुषाबाट डुङ्गा चढेर सिरहा पुगेका थिए र बब्लु गुप्तासँगै पुल निर्माणको निरीक्षण गरे ।