खेलाडीका लागि बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम आयोजना
भक्तपुर (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा २०औँ एसियाली खेलकुद मिसन २०२६ को तयारीमा रहेका खेलाडी र अन्य खेलाडीका लागि बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ।
बागमती प्रदेश खेलकुद परिषदको सहयोगम सूर्यविनायक नगरपालिका–८ मा दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा खेलाडीलाई लैङ्गिक हिंसा, मिडिया फेसिङ र स्पोर्ट्स साइकोलोजी सम्बन्धी छुट्टाछुट्टै प्रशिक्षण प्रदान गरिएको थियो।

खेलकुद क्षेत्रमा हुन सक्ने लैङ्गिक हिंसाका विषयमा सुलोचना सुजख्व, खेलाडीले मिडियासँग कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रकाश तिमल्सिना तथा स्पोर्ट्स साइकोलोजीबारे हसना श्रेष्ठले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा मिसन २०२६ अन्तर्गत विभिन्न खेलका खेलाडी अन्य खेलाडी गरि झन्डै ९० खेलाडीको सहभागिता रहेको थियो। सहभागी खेलाडीको तर्फबाट पलेशा गोबर्द्धन र इभाना थापाले कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमको समापन समारोहमा नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरे।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीलाई शारीरिक प्रशिक्षणसँगै आफ्नो अधिकार, जिम्मेवारी र समसामयिक विषयमा सजग बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफू मन्त्री पदमा नरहे पनि खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
The post खेलाडीका लागि बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम आयोजना first appeared on हाम्रो खेलकुद.